काठमाडौँ ०३ असार ।। ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको वार्ता विफल भएको छ । बुधबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा भएको वार्ता विफल भएको हो । बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा स्थानीयवासीहरु र सहरी विकासमन्त्री सीता गुरुङ सहभागी थिए ।

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै ल्याण्डफिल्ड साइट प्रमुख रवीन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल बिना निष्कर्ष सकिएको बताए । उनले छलफलमा काठमाडौँ महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको बताए । काठमाडौँ महानगरपालिकासँग छलफल गरी निचोडमा पुग्ने बताए ।

प्रमुख बोहोराले काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा दुई तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीहरुले फोहोरको गाडीहरु रोकिरहेकाले स्थानीयबासीहरुको माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्ने बताए । उनले तत्काल बन्चरेडाँडामा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ र फोहोरबाट फैलिएको दुर्गन्धलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा प्रारम्भिक छलफल मात्रै भएको बताए ।

प्रमुख बोहोराले छलफलमा ल्याण्डफिल्ड साइटबाट १ किलोमिटरसम्म झिँगाहरु फैलिएकाले स्थानीयहरुलाई बस्न अफठ्यारो भएकाले तत्काल झिँगा नियन्त्रण गर्ने र फोहोर विसर्जन गरेपछि माटोले क्यापिङ गर्ने काम नभएकाले टाढासम्म दुर्गन्ध रोक्ने बताए । उनले झिँगा नियन्त्रण र माटो क्यापिङ लागि महानगरसँग बसेर निचोडमा पुग्ने बताए । उनले क्यापिङको लागि माटोको समस्या आएकाले विगतमा १७ सय रोपनी अधिकरण भएको जग्गाको सिमाङ्कन हटाएकाले त्यसलाई पुनःसिमाङकन गरेर माटो ल्याउने स्थान महानगरलाई उपलब्ध गराउने बताए ।

प्रमुख बोहोराले क्यापिङ भएपछि धेरै कुराहरुको निराकरण हुने बताए । उनले फोहोर मान्छेसँगै बस्ने अवस्था नभएकाले अति प्रभावित क्षेत्रका स्थानीयवासीहरुलाई मुआब्जा दिएर स्थानान्तरण गर्न इआईए गर्न भोलिदेखि नै प्राविधिक खटाउने बताए । उनले इआर्ईए प्रतिवेदन आएपछि प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुआब्जा दिएर स्थानान्तरण गरिने बताए ।

त्यस्तै ककनी गाउँपालिका वडा न.३ वडा अध्यक्ष धनराज बजगाईंले बैठकमा कुनै निष्कर्ष निस्कन नसकेको बताए । उनले आइतबार काठमाडौँ महानगरपालिका लगायत १७ वटा स्थानीय तहहरुसँग छलफल गर्ने तयारी रहेकाले उक्त बैठकपछि मात्रै फोहोरमैला व्यवस्थापन कसरी गर्ने निस्कर्षमा पुग्ने बताए । उनले तत्कालका लागि अव्यवस्थित रुपमा फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको बताए । उनले झिँगा नियन्त्रण गर्न सरकारले पहल गर्ने बताएको बताए ।

अध्यक्ष बजगाईंले सरकारसँग फोहोर व्यवस्थापनको लागि सधैँ लडाई गर्ने भन्दा पनि अब एक पटक सम्बोधन गर्ने भनेको काम गर्ने समय दिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here