काठमाडौं २५ चैत ।। शिक्षाविद् विद्यानाथ कोइरालाले सार्वजनिक शिक्षाको गुणस्तर झनै ओरालो लागेको बताएका छन् । इरालाले भने, “शिक्षामा भद्रगोल छ । कोरोनाका बेला सरकारले शिक्षकलाई तलब दिन सक्यो तर पढाउनैपर्छ भन्न सकेन । विगत चार वर्षमा ७२९ स्कुल बन्द भए । काठमाडौंमै ४ वटा स्कूल बन्द भए । शिक्षाको गुणस्तर झन् झन् ओरालो लाग्यो ।

शिक्षामन्त्रीको समय उद्घाटन र समापनमै बित्ने गरेको आरोप पनि कोइरालाले लगाए । उनले भने, “मन्त्री नहुँदा गैरजिम्मेवार ढंगले बोल्छन् अनि मन्त्री भएपछि कर्मचारीले नियममा बाँधिदिन्छन् । चिन्तन हुनेसँग सम्पर्क गर्दैनन् । मन्त्रीको समय उद्घाटन र समापनमै बित्छ ।

राजनीतिक दलहरुले शिक्षकलाई फोकटिया कार्यकर्ता बनाइरहेको उनको आरोप छ । कोइरालाले भने, “राजनीति घरघरमा पसेको छ । शिक्षकबाट मुक्त गर्नु कल्पना मात्र हो । शिक्षकलाई राजनीतिक दलहरुले फोकटिया कार्यकर्ता बनाइरहेका छन् । मैले सबै राजनीतिक दललाई जम्मा पारौं र जनवादी, जनमुखी, समाजवादी शिक्षा, विश्वस्तरीय शिक्षा भनेको के हो भन्नेबारे छलफल गरौं भन्दा शिक्षामन्त्री देवेन्द्र पौडेलले लाचारी व्यक्त गर्नुभयो । उहाँले हिम्मत गरेको भए गर्न सकिन्थ्यो । हामीले नसकेको होइन, नगरेका हौं ।

गुणस्तरको ग्यारेन्टी दिने पनि शिक्षकले मात्र दिन सक्ने उनले औंल्याए । कोइरालाले थपे, “विद्यालय सुधार्ने शिक्षकले नै हो । गुणस्तरको ग्यारेन्टी दिने पनि शिक्षकले नै हो । तर हामी कस्मेटिक कुरा गरिरहेका छौं । नमुना विद्यालय, राष्ट्रपति विद्यालय सुधार कार्यक्रम रमाइलोका लागि मात्र हुन् । दलले पनि होइन, व्यवस्थापन समितिले पनि होइन । अब नचाहिने गीत कति गाउने ?

विद्यार्थी देशबाहिर गए भन्दा पनि के फर्काउने भन्ने कुरा प्रमुख भएको उनको विश्लेषण छ । उनले भने, “विद्यार्थी बाहिर गए भन्ने समस्या होइन, के फर्काउने भन्ने मुख्य कुरा हो । पैसा, सीप कि ज्ञान ? उनीहरु विदेश जानु स्वाभाविक हो । चिनियाँले त्यसरी नै विकास गरेका हुन् । शिक्षालाई गरिखाने, अनुसन्धान गर्ने बनाउनुपर्छ । खालि अंग्रेजी बोल्ने र युरोप अमेरिकाको सपना मात्र देखाएर शिक्षा पनि गतिलो हुँदैन, नेपाली धनी पनि बन्दैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here