काठमाडौं २८ असार ।। एसिड पीडित आरती साहलाई मुद्दा फिर्ता लिन व्यवसायी नागेन्द्र साहले दबाब दिने गरेको आरोप लागेको छ । एसिड बिक्रेता साहले ६ लाख रुपैयाँ लिएर मुद्दा फिर्ता लिन दबाब दिएको आरतीले आरोप लगाएकी छन् । ‘नागेन्द्रका मानिसहरुले मलाई मुद्दा फिर्ता लिन विभिन्न प्रलोभन र धम्की दिने गरेका छन् ,’उनले भनिन्,‘मेरो लागि एसिड छ्याप्ने र बेच्ने दुबै दोषी छन्, दुबैलाई कारवाही हुनु पर्छ । तर उनीहरु म काम गर्ने पसलमै आएर धम्की दिने गरेका छन् ।’ आरतीका श्रीमान सञ्जिवले आरती र छोरी रियामाथि ०७७ कार्तिक २७ मा एसिड प्रहार गरेका थिए । जिल्ला अदालत धनुषाले सोही मुद्दामा ०७८ भदौ १० गते अन्तिम सुनुवाई गर्दै फैसला सुनाएको थियो ।

अदालतले एसिड छ्याप्ने सञ्जिवलाई दश वर्ष कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो । एसिड व्यवसायी नागेन्द्र साहलाई भने सफाइ दिइएको थियो । सोही फैसलाबाट चित्त नबुझेको भन्दै आरतीका भाई सञ्जय साहले ०७८ फागुण १५ गते उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । सो मुद्दामा उच्च अदालतले असार ८ गते आरोपिलाई झिकाउन आदेश दिएको छ । तर आरोपि झिकाउन आदेश दिएको तीन साता हुन लाग्दासमेत पेशी चढेको छैन् । तर अदालतले २१ दिनभित्र अदालतमा हाजिर हुन आरोपिको नाममा म्यादपत्र जारी गरेको छ । आरोपि अदालतमा अहिले सम्म हाजिर भएको छैन् । दुबै पक्ष अदालतमा हाजिर भएपछि सुनुवाईको प्रक्रिया अगाडि बढ्ने छन् । यो घटनामा दुबै पक्षबाट मुद्दा दर्ता भएको छ । आरोपित पक्षले धम्की दिएपछि आरती अहिले उक्त पसलमा काम गर्न छोडिसकेको बताउँछिन् ।

आरती केही समय बुबाकै पसलमा जनकपुरस्थित पेठिया बजारमा तरकारी बेच्ने काम गर्दै थिइन् । मधेश प्रदेश सरकारले जागिर दिने घोषणा गरेपछि उनले काम छाडेर सामान्य लेखपढ गर्न टियुसन पढन थालेकी थिइन् । यद्यपि नागरिकता नभएको कारण उनी मधेश प्रदेश सरकारको जागिरको अवसरबाट बञ्चित भइन् । ‘नागरिकता नहुँदा मेरो नोकरी भएन् ।

मेरो छोरी पनि पढ्न पाइरहेको छैन्,’उनले भनिन्,‘परिवार चलाउन कठिनाई भएको छ । कति दिन बुबा आमाकै पैसामा जीवन बिताउँ ।’ जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसिड प्रहार गर्ने सञ्जिव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानून बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दाबी गर्दै जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो । अहिले पनि सरकारी वकिल कार्यालयले सोही अनुसारको क्षतिपूर्ति र सजाय दाबी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here