काठमाडौं २८ असार ।। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले आफ्ना पक्षधर केन्द्रीय सदस्यहरुको बैठक मंगलवार बोलाएका छन् । भट्टराई पक्षको बैठक काठमाण्डुको जडिबुटीस्थित रोयल बैंक्वेटमा दुई दिन सम्म चल्ने छ । जसपा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठकमा भट्टराई समूहलाई बोलाएका छैनन् । सहमतिमा नै पार्टीबाट अलग्गिएको बताउँदै संसदीय दलको कार्यालयमा विदा समेत लिइसकेकाले बैठकमा बोलाउनुको अर्थ नभएको यादव पक्षको तर्क छ ।

भट्टराई समूहले केन्द्रीय समिति बैठकको तयारी पुरा भइसकेको जनाउँदै सदस्यहरु आउने क्रम सुरु भइसकेको भट्टराई निकटका केन्द्रीय सदस्य गंगा श्रेष्ठले जनाए । ‘बैठकमा सहभागी हुन जिल्लाहरुबाट केन्द्रीय सदस्यहरु आउन थालेका छन्’ उनले भने, बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई सहभागिताका लागि जानकारी गराइएकाले अधिकांश सदस्यहरुको सहभागिता रहने छ । बैठकमा सहभागिताका लागि काठमाण्डु आइपुगेका केन्द्रीय सदस्य उमेश साहले भने, पार्टीको आगामी नीति, संगठनात्मक संरचना लगायतको विषयमा छलफल हुनेछ । पार्टी विभाजनका लागि बैठक नभई पार्टीलाई विधि अनुसार चलाउन केन्द्रीय सदस्यहरुको धारणा बुझ्न संघीय परिषद् अध्यक्ष भट्टराईले बैठक बोलाएका हुन् । जसपा अध्यक्ष यादवले असार २ ९ र ३० गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएकै दिन भट्टराईले केन्द्रीय समितिको बृहत् बैठक भन्दै भेला बोलाएका थिए । मुसलमानहरुको बकर ईद पर्वको कारण बैठकलाई अध्यक्ष यादवले एक दिन सारेका हुन् ।

बैठकमा पर्साको वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकमा भट्टराई पक्षलाई आमन्त्रण गरिएको छैन । वीरगन्ज बैठककै समानान्तर हुने गरी भट्टराईले काठमाण्डुमा आफू पक्षीय विस्तारित केन्द्रीय समिति बैठक बोलाएका हुन् । भट्टराई समूहको बैठकमा पार्टीमा देखिएको अन्तरसंघर्ष, स्थानीय तह निर्वाचनको समीक्षा र प्रदेश– प्रतिनिधिसभा निर्वाचनको तयारी प्रमुख एजेन्डा रहेको कार्यकारिणी सदस्य श्रेष्ठले बताए । भट्टराईले बोलाएको बैठकमा कार्यकारिणी सदस्यहरु महेन्द्र यादव, रामनरेश राय यादव पनि सहभागी हुने छन् । कार्यकारिणी सदस्य राजकिशोर यादवले दुबै समूहलाई वार्ताबाट समाधान खोज्न आग्रह गर्ने बताएका छन् । उनी तटस्थ रहन चाहेको बताए पनि कतिपयले भट्टराई समूहको बैठकमा नै सहभागी हुने दाबी गरेका छन् ।

असन्तुष्ट रहे पनि निवर्तमान मन्त्री रेनु यादव वीरगञ्ज बैठकमा सहभागी हुनेछन् । उनीहरुले यादव समूह बैठकमा नबोलाएको बताए पनि मेल र म्यासेञ्जरबाट सबैलाई जानकारी गराइएको कार्यकारिणी समिति सदस्य गजाधर यादवले बताए । वीरगञ्जमा बस्ने बैठकका लागि पार्टीले संगठनात्मक, विधान लगायतका विषयमा प्रतिवेदन तयार गरेको जनाउँदै यादवले भने, मंगलवार वीरगञ्जमा दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्ने छ । सो बैठकले केन्द्रीय समितिमा पेश हुने विधान संशोधन लगायतका प्रतिवेदनहरुलाई अन्तिम रुपमा दिने बताइएको छ । विधानबाट दुई अध्यक्षीय प्रणालीलाई हटाइएको छ । कार्यकारिणी समितिलाई पूनर्गठनगरी भट्टराई समूहको बैठकमा सहभागी हुनेहरुलाई हटाइने छ । प्रतिवेदनलाई अन्तिम रुप दिने बैठकमा अध्यक्ष यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोंग, गजाधर यादव लगायत ६ जना रहेका थिए ।

केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले सोमवार जारी गरेको विज्ञप्तिमा काठमाण्डुमा हुने भनिएको बैठक जसपाको नरहेको प्रष्ट गरिएको छ । जसपाको बृहत् बैठक भनेर पार्टी विरोधी तत्वहरुले प्रचार गरेको उनले आरोप लगाएका छन् । पर्सा जिल्लामा २९ र ३० गते केन्द्रीय समितिको आधिकारिक केन्द्रीय समितिको बैठक बस्ने उल्लेख गर्द अधिकारीले भ्रामक प्रचारगरी केन्द्रीय सदस्यहरुलाई झुक्याउने प्रयास भइरहेकाले त्यसमा सहभागी नहुन अनुरोध गरेका छन् । बैठकको सम्पूर्ण तयारी पुरा भइसकेको पर्सा जिल्लाका सांसद एवं वन मन्त्री प्रदीप यादवले जनाए । मन्त्री यादवका अनुसार केन्द्रीय समितिका सदस्यहरुको आवास, भोजन, नास्ता लगायतको सुविधा जसपाका पर्सा जिल्ला कमिटी र वीरगञ्ज महानगरपालिका कमिटीले उपलब्ध गराएको छ । जसपाको केन्द्रीय समितिको बैठकका आयोजक समितिले सम्पूर्ण खर्च व्यहोरेको यो पहिलो भएको बताइन्छ ।स्रोतहरुका अनुसार जसपाको पूनःविभाजनका लागि काठमाण्डु र वीरगञ्ज बैठक निर्णायक हुने भएको छ । बैठकपछि जसपा औपचारिक रुपमा विभाजित हुनेछ । बैठकमा भट्टराई समूहले विगतमा केन्द्रीय सदस्यहरुसित लिएको हस्ताक्षरलाई प्रयोग गर्न सक्ने संभावना रहेको छ ।

यस अघि गत वर्ष असोजमा जसपा औपचारिक रुपमा विभाजन भएको थियो ।जसपाबाट तत्कालीन अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा कार्यकारिणी समिति र केन्द्रीय समिति, प्रदेश सभा सदस्य, संघीय सांसदहरु अलग दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका थिए । सौहाद्रपूर्ण ढंगले जसपाबाट अलग्गिन अध्यक्ष यादव र संघीय परिषद्का अध्यक्ष भट्टराईबीच यस अघि नै सहमति भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here