सर्लाही, १० भदौ ।। सर्लाहीमा अनुचित लेनदेन ९मिटर ब्याज० सम्बन्धी उजुरीका ६५ जना फरार सूचीमा परेका छन् । छलफलका लागि सम्पर्कमा नआएपछि उनीहरू फरार सूचीमा परेका हुन् ।

सर्लाहीमा १७ पालिका छन् । ती सबै पालिकाबाट मिटर ब्याज सम्बन्धी २८६ उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो । जसमध्ये १६७ उजुरी छलफलबाटै फर्छ्यौट भएको छ । कानूनले तोकेको मूल धनको १० प्रतिशत ब्याज दिएर अधिकांश उजुरी मिलापत्र गराइएको छ ।

उजुरी फर्छ्यौट गर्न पीडित र पीडक दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालयले बोलाउँछ । तर छलफलमा बोलाउँदा पटक पटक नआएपछि ६५ जनालाई फरार सूचीमा राखिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।

छलफलमा बोलाउँदा उपस्थित नहुनेलाई कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिल्यै चेतावनी दिएको थियो । सो बमोजिम ६५ जनालाई कारबाहीमा पर्ने देखिएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई समेत पत्राचार भइसकेको स्रोतले जनाएको छ ।

सहायक प्रजिअ घिमिरेका अनुसार ३५ वटा उजुरी फर्छ्यौट गर्न बाँकी छ । परेको उजुरीमध्ये मिटरब्याजीका १९ आरोपीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा चलेको छ । मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले छलफल गराइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here