जोमसोम २५ असार ।। धार्मिक कलासँस्कृति, भेषभूषा र मौलिकताले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका निकै प्रसिद्ध गाउँपालिका हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ५ वटै वडाहरुमा १९ वटा गाउँ छन् । सबै गाउँहरुमा गुरुङ समुदायको बसोबास छ । सबै गाउँमा ऐतिहाँसिक, धार्मिक र साँस्कृतिक मान्यताअनुसार आफ्नो विभिन्न चाडपर्व, जन्म र मृत्यु, पूजापाठ र शुभकार्य लगायतमा धार्मिक कलासँस्कृति र भेषभुषा प्रस्फुटन गरिने गरेको पाइन्छ ।
संघीयतापछिको पहिलो कार्यकालमा वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको पूर्वअध्यक्ष बनेका फेञ्चोक छेप्तेन गुरुङले आफ्नो पालिका भवन धार्मिक मान्यताअनुसार तिब्बती शैलीमा निर्माण गरे । वारागुङ मुक्तिक्षेत्रको पालिका भवन पर्यटकीय दृष्टिकोणले पनि आफैंमा महत्वपूर्ण मानिन्छ । कागबेनीदेखि मुक्तिनाथ जाने मुख्य सडककै नजिक वारागुङ मुक्ति क्षेत्रको कलात्मक प्रशासकीय भवन निर्माण सम्पन्न भएको थियो । जहाँ पुग्दा धार्मिक पर्यटक सो प्रशासकीय भवन हेर्न लालायित हुन्छन् ।
स्थानीय तहको पहिलो कार्यकाल सकिने अन्तिम वर्षमा वारागुङ मुक्ति क्षेत्रका पूर्व अध्यक्ष फेञ्चोक छेप्तेनले फेरि मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने पर्यटकका लागि वारागुङको पहिचान झल्किने साँस्कृतिक स्वागत प्रतिमा निर्माणको काम अघि बढाए । अहिले सो प्रतिमा निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । पूर्व अध्यक्ष गुरुङकै परिकल्पना बमोजिम वारागुङ-५ र १ वडा जोड्ने पालिकाको सीमाना पान्डाखोलाको सडक किनारामा सँस्कृति झल्किने स्वागत प्रतिमा निर्माण गरिएको हो । जुन स्थान दक्षिणतर्फ घरपझोङ गाउँपालिकाको सीमाना पर्छ ।
पोखराबाट बेनी हुँदै मुक्तिनाथ र लोमान्थाङ जाने पर्यटकलाई स्वागत गर्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिका धार्मिक तथा साँस्कृतिक स्वागत प्रतिमा निर्माण गरेको हो । जोमसोम कटेर जब पर्यटक उकालो उक्लिन्छन् अनि देख्न पाइन्छ पर्यटक लोभ्याउन वारागुङ मुक्तिक्षेत्रको आर्कषक स्वागत प्रतिमा । वारागुङले निर्माण गरेको स्वागत प्रतिमाले त्यहाको साँस्कृतिक भेषभुषा र जीवनशैलीलाई उजागर गरिदिएको पाइन्छ ।
स्वागत प्रतिमामा ३ जना महिलालाई साँस्कृतिक रुपले जीवन्तरुपमा उभ्याइएको छ । बाह्र गाउँले समुदायले हरेक शुभकार्य, विवाह ब्रतबन्ध, पूजाआजा र अतिथि सत्कारका लागि यसप्रकार धार्मिक सँस्कृतिलाई जिवन्त रुपमा प्रस्तुत गर्ने गर्छन् । कंक्रिट, ढुंगा र माटोलगायतका सामाग्रीले निर्माण गरिएको प्रतिमा सजाइएका ३ महिलाको शिरमा नागको स्वरुप झल्किने गरी स्ह्युले लगाएको देख्न सकिन्छ । ३ महिलाको कानमा सुनको रिङ (आलोङ) लगाएका छन् ।
बाह्रगुङ सँस्कृतिअनुसार ३ महिलाहरुको घाँटीमा लगाउने ( झ्युरु स्ही ) पहिराइएको छ। यसका अलावा महिलाको घाँटीमा लगाउने बहुमुल्य मुवा ( सुम्ज्यु),चोली ( हङ्च्यु) ,शरीरमा लगाउने पछ्यौरा ( स्हेन्भुरे ), छातीमा लगाउने चाँदीको धिक्रा हुक, ढाँडमा बाँध्ने पटुकी (काउ ठिङ्मा, नाम्वा ढुक्पा (किटी),बख्खु (ग्वे) र खुट्टामा लगाउने धोजा जुत्ता (स्होम्बा स्याङजेन)लगायतको भेषभुष प्रस्फुटन हुनेगरी प्रतिमा निर्माण गरिएको हो ।
अतिथि देव भव भन्ने उक्ति झैँ वारागुङले ३ महिलाको स्वागत प्रतिमा राखेर पर्यटकको सत्कार झल्काएको हो। तीन महिलाहरुमध्ये २ जनाले क्ष्याप्का केरा अर्थात् ठेकी लिएका छन् भने १ महिलाको हातमा चोखोपानी र फुल राख्ने कचौरा (याङ्जी)लिएको देख्न सकिन्छ ।वारागुङ मुक्ति क्षेत्रको १९ वटै गाउँहरुमा गाउ समाजले यस्तै आतिथ्यता र सत्कारका लागि ३ जना महिला चुनेर जिम्मेवारी दिने परम्परा रहेको पूर्व गापा अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए ।
समाजका सबै असलकार्यहरुमा चुनिएका महिलाले शुभकार्यका लागि सम्मान प्रकट गर्छन् र त्यसपछि काम सुरु गर्ने चलन रहेको पूर्वअध्यक्ष गुरुङले उल्लेख गरे । जोमसोम र कागबेनी प्रवेश गर्ने सीमाक्षेत्रमा निर्माण गरिएको स्वागत प्रतिमाको आर्टिस गर्ने जिम्मा सो पालिका निवासी कुङ्गा गुरुङ लगायतको टोलीले तयार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले जानकारी दिए ।
गाउँपालिकाको चालु आर्थिक वर्ष विनियोजन भएको १० लाख बजेटले प्रतिमा निर्माण गरिएको प्रशासकीय अधिकृत रानाले उल्लेख गरे । प्रतिमा झन्डै १ महिना लगाएर निर्माण गरिएको उनको भनाइ छ । धार्मिक कलासँस्कृति, सम्पदा र मौलिकताको संरक्षण तथा सम्बर्द्धन गर्दै दीगो पर्यटन विकासमा योगदान रहनेगरी पालिकाले प्रतिमालगायतका पूर्वाधार निर्माण गरेको प्रशासकीय अधिकृत रानाले बताए ।