जनकपुरधाम २५ असार ।। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा शल्यक्रियामा चिकित्सकले गरेका गम्भीर लापरबाहीलाई मधेश प्रदेशको महिला बालबालिका तथा समाजिक न्याय समितिले लिखित र मौखिक स्पष्टीकरण सोधेको छ । अस्पतालले बिरामीलाई चेकजाँच बिनै पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको ज्यान नै जोखिममा परेपछि मधेस प्रदेशसभाको महिला बालबालिका तथा समाजिक न्याय समिति सभापति जयनुल राईन नेतृत्वको छानविन समितिले प्रतिष्ठानका उपकूलपति डा. रामकेवल साहलाई बोलाएर मौखिक तथा लिखित जवाफ घटनाबारे लिएको हो ।

महोत्तरीको जलेश्वर नगरपालिका २ घर भई हालः जनकपुरधाम उपमहानगरपालिका भाडा कोठा लिएर बस्दै आएकी विभा चौधरीले झण्डै चार महिना अघि गराएको चेकजाँचको आधारमा चिकित्सकले पित्तथैली पत्थरीको शल्यक्रिया गर्दा बिरामीको ज्यान जोखिममा परेको हो । २०७८ फाल्गुन २८ गते बिरामीले अल्ट्रासाउण्डमा गराएको रिपोर्टको आधारमा नै चिकित्सकले शल्यक्रिया गरेको गम्भीर लापरबाही भेटिएको भन्दै सांसदहरुले छानविन माग गरेका हुन् ।

चार महिना अघि व्यक्तिगत (सेल्फ) रुपमा भिडियो एक्स-रे (अल्ट्रासाउण्ड) गराएको र सोही आधारमा डा. अमरेश कर्णले भर्ना गरी डा. राजेश साह र डा. आश्विनी यादवले शल्यक्रिया गरेको थियो। शल्यक्रियापछि बिरामीको अवस्था नाजुक हुँदा जेकजाँच गर्दा चार महिनाको गर्भवति भएको जानकारी प्राप्त भएको थियो । समितिको तर्फबाट जयनुल राइन नेतृत्वको टोलीले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा चिकित्सकहरुको टोलीसँग सोधपुछ गरीसकेको जानकारी दिए । थप जानकारीका लागि उपचाररत काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा बुझ्न जान लागेको राइनले जानकारी दिए ।

उनले भने, ‘घटनाको कारण, अहिलेको स्थितिबारे उपचाररत हस्पिटलको धारणा लगायतको विषयवस्तु मिहीन ढंगको छानविन गरिरहेका छौं। अहिले त्रुटि ठयाक्कै यही हो भन्न मिलेन, तर प्रारम्भिकरुपमा लापरबाही भएको पाइएको छ । थप कुराहरु स्वास्थ्यका विज्ञहरुसँग पनि सल्लाह हुँदैछ । छानविन समितिमा संयोजक जयनुल राइन, सदस्यहरु शारदा देवी थापा, प्रमिला दास र रानीशर्मा तिवारी र प्रदेशसभा सचिव रञ्जित यादव भोलि बिरामी भेटन तथा अवस्था बुझ्न काठमाडौं जान लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here