धनुषा २५ असार ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकामा डिप बोरिङ निर्माणमा अनियमितता भएको प्रकरणमा छानविन थालेको छ । तत्कालीन गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखाअधिकृत र उपभोक्ता समितिले आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाको विभिन्न वडामा ११ वटा २५० एमएम/१५० एमएम डिप बोरिङ निर्माणमा मिलेर व्यापक अनियमितता गरेको उजुरीपछि अख्तियारले अनुसन्धान सुरू गरेको हो ।

अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी विकासकुमार मिश्रले अनियमितता भएको उजुरी परेपछि अनुसन्धान थालिएको जानकारी दिए । विभिन्न वडामा अलग अलग उपभोक्ता समितिले ११ वटै बोरिङ निर्माण व्यवसायी मार्फत गराएका थिए । ११ मध्ये ७ वटा बोरिङ पूर्वाञ्चल ग्राउण्डवाटर ट्युबबेल प्रा.लि. र ४ वटा एन.के.डी.कन्सट्रक्सन प्रालिले गरेका थिए ।

ती निर्माण व्यवसायीले पेश गरेको भ्याट बिलमा प्रति डिप बोरिङ १० लाख ७६ हजार ५८० रुपैयाँ मात्र निर्माण लागत रहेको उल्लेख छ । जसअनुसार जनश्रमदान १० प्रतिशत कट्टा गरी प्रति डिप बोरिङ ९ लाख ६८ हजार ८३२ रुपैँयाका दरले १ करोड ६ लाख ५७ हजार १५२ रुपैयाँ भुक्तानी दिनुपर्ने हो । तर उपभोक्ता समितिहरूलाई लागत अनुमान र कार्यसम्पन्न प्रतिवेदन तयार गरी गाउँपालिकाको कार्यालयले प्रति बोरिङ झण्डै १६ लाखको दरले १ कारोड ७५ लाख ९५ हजार ८६३ भुक्तानी गरेको छ ।

महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनले डिप बोरिङ निर्माण कार्यमा ६९ लाख बढी भुक्तानी गरी अनियमितता गरेको ठहर गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here