कास्की १६ असार ।। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले प्रदान गर्ने पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा भएको छ । शनिबार पोखरा सभागृहमा अवार्ड वितरण गरिने मञ्चका अध्यक्ष दिनानाथ बरालले जानकारी दिए ।

खेलकुदका विभिन्न ७ वटा विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले अवार्डका लागि मनोनयन सार्वजनिक गरिसकेको छ । यस वर्षका लागि वर्ष पुरुष खेलाडीमा ब्याडमिन्टनका विधान अधिकारी, कराँतेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका छन् ।

वर्ष महिला खेलाडीमा भलिबलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाल मनोनयनमा परेका छन् । यसैगरी उदीयमान खेलाडी विधामा टेनिसका दर्शील श्रेष्ठ, क्रिकेटका सृष्टि जैसी र बक्सिङका साहिल लिम्बु मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयनमा छन् । मनोनयनमा परेकामध्ये एक जनालाई जुरी कमिटीले अवार्डका लागि छनोट गर्नेछ ।

यस वर्षको लाईफटाईम अचिभमेण्ट अवार्ड बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराईलाई प्रदान गरिने भएको छ । अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् ।

भट्टराई १९८९, १९९० र १९९१ मा लगातार बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलोपटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराई पहिलो सहभागितामै जुनियर च्याम्पियन बने । १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनसिपमा गोल्ड मेडल जितेका उनी सोही वर्ष सिनियरतर्फ चौथो भए । त्यसको एक वर्षपछि उनी राष्ट्रिय च्याम्पियन बने ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँचिएपछि खेलाडीको रुपमा उनको करिअरले विश्राम लिएपनि त्यसयता व्यवस्थापकीय पक्ष सम्हाल्दै आए । १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक देशले जित्दा उनी टीम मेनेजर थिए । फुटबल खेलसँग समेत संलग्न भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बनेका भट्टराईले भूतपूर्व खेलाडी मञ्चको उपाध्यक्ष, नेपाल बक्सिङ संघको उपाध्यक्ष, जोय फाउन्डेसनका संस्थापक सदस्य, रेबान पोखराको अध्यक्ष, पोखरा उपमहानगरपालिकाको ८ महिनासम्म उपमेयरको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here