काठमाडौँ, २६ असोज ।। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले रसियन ओलम्पिक कमिटीलाई अनिश्चित समयका लागि निलम्बन गरेको छ । आईओसीको बोर्ड बैठकले तत्काल लागू हुने गरी रुसलाई निलम्बन गर्ने निर्णय बिहीबार लिएको हो ।

युक्रेनको क्षेत्रभित्र रहेका चारवटा कमिटीलाई मान्यता दिएपछि आईओसीले रसियन ओलम्पिक कमिटीमाथि प्रतिबन्ध लगाएको हो । रसियन ओलम्पिक कमिटीले अक्टोबर ५ तारिखमा युक्रेनको भूभागमा रहेका लुहानस्क, डोनेट्स्क, खेरसन र जापोरिज्जिया क्षेत्रीय संघको रुपमा मान्यता दिएको थियो ।

यी चारवटै संघहरु युक्रेनको राष्ट्रिय ओलम्पिक कमिटीअन्तर्गतका सङ्घ हुन् । सोही विषयलाई लिएर आईओसीले रुसमाथि प्रतिबन्ध लगाएको हो । ‘अर्काको भूभागमा रहेको सङ्घलाई मान्यता दिएर रसियन ओलम्पिक कमिटीले हाम्रो नियमको उल्लङ्घन गरेको छ । त्यसैले रुसमाथि प्रतिबन्ध लगाएको हो,’ आईओसीले भनेको छ ।

प्रतिबन्धपछि अब रुसले आईओसीको छातामुनि हुने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । रुसका खेलाडीले अब आफ्नो देशको झन्डामुनि रहेर ओलम्पिक खेलकुदमा पनि सहभागिता जनाउन पाउने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here