सर्लाही, २९ भदौ ।। सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अन्य तीनजना तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा बा ३० प ९४०७ नम्बरको मोटरसाइकल चालक बागमती नगरपालिका ८ शंकरपुरका ५० वर्षीय गणेश कार्की छन् । उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो बागमती नगरपालिका ८ गाजलीचोकमा राजघाटबाट सोल्टी आइरहेको कार्की चलाइरहेको बा ३० प ९४०७ नम्बरको मोटरसाइकल र हरिवनबाट रौतहटतर्फ जाँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
अर्को मोटरसाइकल सवार हरिवन १ का ३२ वर्षीय मुकेश कुमार साह, उनकी श्रीमती २६ वर्षीया शान्ता कुमारी साह र ३ वर्षीया छोरी घाइते भएका छन् । बालिकाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
मृतक कार्कीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।