काठमाडौँ १३ असार ।। नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा एकीकृत समाजवादीका तर्फबाट नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका हुन् ।

जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा सपथ लिएका हुन् ।

राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोकेका थिए ।

मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here