काठमाडौँ, २२ भदौ ।। लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समिति तयारी अवस्थामा पुगेको छ । भदौ १० बसेको कार्यकारिणी समितिको बैठकबाट केन्द्रीय समिति बनाउने म्यान्डेट पाएका लोसपाका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति, कार्यकारिणी समिति, पदाधिकारी समिति तयार पारेर आफ्नो सुटकेशमा राखेका छन् । तर त्यो सुटकेशबाट निकालेर कहिले सार्वजनिक हुने मिति निश्चित भएको छैन ।

कार्यकारिणी समितिका एक सदस्यले भने, ‘अध्यक्षज्यूले केन्द्रीय समिति, पदाधिकारी समिति तयार गरेर आफैसँग राख्नु भएको छ, अर्को हप्ता सार्वजनिक गर्ने चर्चा पार्टीमा छ, तर अझै निश्चित छैन ।’ पार्टीको कार्यकारिणी समितिबाट अनुमति लिइसकेको कारण सार्वजनिक गर्दा पुनः बैठक बसाउनु नपर्ने बताइएको छ ।

पदाधिकारी कति जना हुने अन्तरिम विधानले पनि सुनिश्चित गरेको छैन । तर विधानमा अध्यक्ष १ जना तथा आवश्यकता अनुसार वरिष्ठ नेता, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्षहरु रहने बताइएको छ ।

पार्टीको केन्द्रीय समिति ३२४ सदस्यीय रहेका छन् भने कार्यकारिणी समिति ५१ सदस्यीय बनाएको स्रोतले जनाएको छ । लोसपा स्थापना भएको २ वर्ष बितेको छ । यो दुई वर्ष पार्टी केन्द्रीय समिति बिना चलेको छ । केन्द्रीय समितिलगायत अन्य समितिहरू बनाउने जिम्मेवारी पाएका अध्यक्ष ठाकुरले समिति बनाउन यत्रो समय लगाएको नेताहरू बताउँछन् ।

लोसपाको अन्तरिम विधानमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिले क्षेत्रीय, सामुदायिक, समावेशी, लैङ्गिक सन्तुलन र वर्तमान सङ्गठनका वस्तुस्थितिलाई मध्यनजर राख्दै ४०१ सदस्यसम्मको केन्द्रीय समितिका गठन गर्ने भनिएको छ ।

केन्द्रीय सल्लाहका समिति, विज्ञ समिति, अनुशासन समिति, निर्वाचन समिति र लेखा परीक्षण समितिका अध्यक्ष र सचिवहरू केन्द्रीय समितिका पदेन सदस्य हुने अन्तरिम विधानमा उल्लेख छ ।

केन्द्रीय समितिको बैठक कम्तीमा ६ महिनामा एक पटक बस्ने भनिएको छ । राजनीति समिति १५१, केन्द्रीय सल्लाहकार समिति ३१, केन्द्रीय विज्ञ समिति २५, केन्द्रीय अनुशासन समिति १५, केन्द्रीय निर्वाचन समिति २१, केन्द्रीय लेखा परीक्षण समिति ११ सदस्यीय रहने पार्टीको अन्तरिम विधानमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here