बुटवल २४ असोज ।। रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् ।  घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले रातोपाटीलाई बताए । उनले भने–‘घाइतेहरुलाई अस्पताल पठाउँदैछौँ ।

बुटवल औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो । घाइतेमध्ये एकजनाको टाउको र एकजनाको छातीमा गोली लागेको बताइएको छ । औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् ।

२०७२ मा मोतीपुरमा औधोगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेर सरकारले केही समयअघि शिलान्यास गरेको थियो । औधोगिक क्षेत्र निर्माणस्थलमा अतिक्रमण गरेर टहरा बनाएर बसेकाहरुलाई हटाउन खोज्दा झडप भएको डीआईजी आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here