म्याग्दी १४ असार ।। बेनी–जोमसोम सडक खण्डको बेगखोलामा पुल नहुँदा यात्रुले भेलमा हेलिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बेगखोला सदरमुकाम बेनीदेखि १२ किलोमिटर उत्तरमा पर्छ । ६ वर्षअघि आएको बाढीले बेलिब्रिज र झोलुंगे पुल बगाए पनि अहिलेसम्म कल्भर्टसमेत बन्न सकेको छैन ।

बेगखोलामा मोटरेबल पुल त छैन नै, कल्भर्टसमेत बनाइएको छैन । यसले साना सवारी मात्र होइन ठूला सवारीसाधनले पनि सास्ती खेप्नुपरेको छ । बेगखोलामा पानीको सतह ह्वात्तै बढेकाले अब असोज नलागेसम्म साना सवारी लिएर बेनी–जोमसोम यात्रा जोखिमयुक्त छ ।

बेगखोलामा २०७३ भदौ १५ को राति आएको बाढीले ११ वटा घरसमेत बेलिब्रिज र सँगै रहेको झोलुङ्गे पुल कालीगण्डकीमा मिसाएको थियो । त्यसयता ह्युमपाइप राखेर कल्भर्टसमेत बनाइएको छैन । बेगखोला खहरे हो । बेग, बान्दुकलगायत माथिल्लो ठूलो भीर, जंगलबाट भेल जम्मा भई आउने र बेगको पुछारमा ठूलो पहिरो चलेकाले बेगखोलाले गेग्रान धेरै ल्याउने गर्छ ।

‘बेगखोलाको भेलमा ज्यानको बाजी लगाएर हेलिनुपर्ने वा ठूला गाडीको पछाडि झुन्डिएर तर्नुपर्ने हाम्रो नियति बनेको छ,’ अन्नपूर्ण गाउँपालिका–५ शिखका तेसराम पाइजाले भने, ‘कहिलेकाहीं खोला तार्ने डोजर वा ठूला गाडी भएन भने गन्तव्यमा नपुगी फर्कनुपर्छ ।’ पाइजाका अनुसार राष्ट्रिय गौरवको अन्तरदेशीय बेनी–जोमसोम–कोरोला सडकमा ६ वर्षदेखि यात्रुले मोटर पुल परको कुरा सामान्य कर्ल्भटसम्म नपाउनु नियति, दुर्भाग्य मात्र नभई बेइजती पनि भएको छ ।

मनसुनका चार महिना असारदेखि असोजसम्म पानी पर्दा बेगखोलाले यातायात अवरुद्ध बनाउने भएकाले बाढीको सतह घटेपछि डोजर चलाएर पानी सतह फिँजारेर सवारी पास गराइन्छ । ठूला मालवाहक गाडीले भने बाढी/भेल घटेको बेला जबर्जस्ती खोलामा गाडी हालेर सडक पार गर्छन । रघुगंगा गाउँपालिका–१ मा पर्ने बेगखोला तर्ने क्रममा सयौं मोटरसाइकल र ट्याक्सीले बलजफ्ती खोला तर्न खोज्दा साइलेन्सरमा पानी पसेर इन्जिन नै बिग्रने गरेका छन् । टाढाबाट आएको यात्रु बेगखोला पुगेपछि यात्रा त्यागेर फर्कनुभन्दा जबर्जस्ती भेलमा सवारीसाधन खोलामा हाल्न बाध्य हुन्छन् । बेगखोलाको ५ सय ७० मिटर खण्ड सडक विभाग पुल महाशाखाले ठेकदारलाई हस्तान्तरण गरेकाले उक्त खोलामा बेनी–जोमसोम–कोरोला सडक आयोजनाले केही गर्न नमिलेको तथा यो वर्ष पनि यात्रुले सास्ती झेल्नुको विकल्प नभएको आयोजनाले जनाएको छ ।

‘यात्रुले सास्ती पाएकोबारे जानकार छौं । ७–८ महिनाअघि म आयोजनामा आएपछि अर्को खोलामा अलपत्र परेको बेलिब्रिज झिकेर यहाँ राखौं भनेको थिएँ । बेगखोलामा पुल महाशाखाले ठेक्का लगाइसकेकाले दोहोरो भुक्तानी हुने र कानुनी झन्झट ब्यहोर्नुपर्ने भएपछि कसैले जोखिम लिन तयार भएनन्,’ बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘बेगखोलाको ५ सय ७० मिटर खण्ड हाम्रो स्वामित्वमा रहेनछ, मैले थप केही गर्न मिलेन । बरु पुलनिर्माण ठेकदारलाई मनसुन अवधिभर एउटा डोजर स्ट्यान्डवाई राख्ने र सवारी पास गर्न सहयोग गर्न आग्रह गरेको छौं । पुलका ठेकदारले अर्को वर्षसम्म पुलनिर्माण पूरा गर्ने बताएका छन् । यो वर्ष कष्ट सहनुको विकल्प रहेन ।

बेगखोलामा सडक विभाग पुल महाशाखाले ‘डिजाइन एन्ड विल्ड’ मोडेलमा पुल बनाउन वीक्वीई हिमालयन जेभिलाई भ्याटसहित ८ करोड ५० लाखमा ठेक्का दिएको छ । ठेकदार कम्पनीले बेगखोलामाथी निर्माण हुने पुलको डिजाईन तयार पारी खोलाको विचमा पर्ने एउटा फाउन्डेसन राखिसकेको जनाएको छ । पुल ७० मिटर लामो हुने छ । पुलदेखि दायाँ–बायाँ २–२ सय मिटर लिंक सडक हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here