काठमाडौं, ०९ भदौ ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय मान्यता प्राप्त नभएको दलको नाममा आफूलाई छलफलमा नबोलाएको गुनासो गरेका छन् । शनिबार नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै सुनकाण्डको छानबिनमा राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भनेर एसलाई बाइपास गरिएको भन्दै असन्तुष्ट व्यक्त गरेका हुन् ।

‘नामै सुन्न नचाहने अहिलेसम्म पनि, यो पार्टीको मतलबै नराख्ने। हुँदाहुँदा हिजो अस्ति संसदमा, अरु सबै पार्टी हुन्छ तर एकीकृत समाजवादी हुँदैन। र, हामीलाई उपस्थित हुन दिएनन् । र त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै पार्टी बसे, तर राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने आधार टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् । पूर्वप्रधानमन्त्री नेपालले भने अब हामी सोचिरहेका छौं । हामी पनि केही गर्नुपर्छ। धेरै भलाद्मी पाराले हुँदो रहेनछ । त्यसैले घिउ निकाल्न औलों बाङ्गो बनाउनुनै पर्दो रहेछ ।

उनले जनतालाई अवसर दिएपनि नेकपाले उपयोग गर्न नसकेको गुनासो गरे । नेकपा एमाले र माओवादी केन्द्र मिलेर निर्वाचन लड्दा जनताले झण्डै दुई तिहाई बहुमत दिएपनि नेकपा विघटन भएको बताए ।

नेपालले चुनावको बेला एकीकृत समाजवादीलाई गाह्रो भएकाले गठबन्धनमा गएको बताए । उनले भने,‘चुनाव पश्चात एमालेबाट केपी शर्मा ओलीलाई बोलाउँ, तपाईं (प्रचण्ड) र म बसेर शेर बहादुरलाई छाडेर नयाँ गठबन्धन बनाउँ भनेको त ओलीले केरे माधवलाई त्यसो भए त शेरबहादुरलाई समर्थन गरेर प्रधानमन्त्री बनाउँछु भनेछन्…

उनले पुरानो नेकपा ब्युउत्याउन पटक पटक प्रचण्डलाई ओलीसमक्ष पठाएको दाबी गरे । नेपालले कमजोरीबाट मुक्त रहेको मान्छे संसारमा कहिँ पनि नपाइने बताए । उनले मानिसका नराम्रा पक्ष र कमजोरी रहेमा सुधार गर्दै जानुपर्ने धारणा राखे। उनले शैली, त्रुटी र कमजोरीलाई हटाएर अगाडि बढ्नुपर्ने बताए ।

नेपालले अहिलेको सिंगो राजनीतिक परिस्थितिले ल्याएको समस्या र चुनौतिमा सम्भावना खोज्न आग्रह गरे । सधैंभरी चुनौतिको साथमा सम्भावना पनि हुन्छ, समस्याको साथमा समाधान पनि हुन्छ । द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने हामी मार्क्सवादमा विश्वास गर्ने हामीहरु समस्याहरु देखेर भाग्दैनौं, चुनौती देखेर तर्सिदैनौं चुनौतिको सामना गर्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here