रौतहट, ०७ चैत ।। रौतहट जिल्लाको गरुडा नगरपालिका– ५ मुहम्मदपुर निवासी कुँवर भन्ने सटाही पण्डितले आफ्नो छोरालाई कर्तव्य गरी हत्या गरिएको बताएका छन् । तर घटनालाई प्रहरीले दुर्घटनातर्फ परिणत गर्न खोजेको आरोप लगाएका छन् । प्रहरीले निष्पक्ष रुपमा छानविन गर्नुको साटो राजनीतिक दबाबमा हत्या भएको घटनालाई सवारी दुर्घटनातर्फ लैजान खोजेको उनले आरोप लगाए ।
मृतकका परिवारले मंगलबार गरुडामा पत्रकार सम्मलेन गरी गएको फागुन १७ गते गाउँबाट देवाही गोनाही जयन्ती जानलाई घरमा लिन आएका स्थानीय विरेन्द्र पण्डितको छोरा राम बालक पण्डित, राम ईश्वर साह तेलीको छोरा नथुनी साह भन्ने राजकिशोर साहले बलजबरजस्ती मोटरसाइकलमा लागि मदिरा खुवाएर माधवनारायण नगरपालिका– १ र २ को बिच चौरमा छोरा रामजी पण्डितलाई कुटपिट गरी गम्भीर घाइते बनाएको उनले आरोप लगाए ।
मुख, नाक, घाँटी र निधारमा गम्भीर चोट लागेको कारण अचेत भएको छोरालाई तत्काल एम्बुलेन्सबाट ग्रान्डी हस्पिटलमा उपचारको लागि ल्याएकोमा थप उपचारको लागि न्यूरो अस्पताल वीरगञ्ज लागेकोमा उपचारको क्रममा फागुन १९ गते बिहान ६ बजे चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।
रामबालक पण्डितले प्र २–०२–००१ प ४०७७ मोटरसाइकलमा बिचमा सँगै बसेर गएको छोरालाई कसरी चोट पटक लाग्यो, दुर्घटना हुँदा तीनै जनालाई चोट पटक लाग्नुपर्नेमा दुई जनालाई केही नभएको र आफ्नो छोराको अन्य भागमा चोट नलागी घाँटी, नाक, मुख रनिधारमा कसरी गहिरो चोट लागेको भनी उनले प्रश्न गरे । मृतकका बुवा पण्डितले छोरा बेहोस हुँदा परालमा सुताइएको अवस्थामा एम्बुलेन्स गएकोमा चालकसँग दुई जना ग्रान्डी हस्पिटल आएर फरार भएको बताए ।
पहिलादेखि हत्या गर्ने धम्की दिँदै आएका राम बालक पण्डितले योजना अनुसार नै छोराको हत्या गरेकाले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कारवाही हुनुपर्ने माग पीड़ित परिवारको रहेको छ ।
मृतककी श्रीमती सविता देवीले जीवनको सहारा नै समाप्त भएकाले दोषीलाई हदैसम्म कारवाही गर्नुपर्ने माग गर्दै राजनीतिक रुपमा घटनालाई दुर्घटनातर्फ लैजान खोज्ने इलाका प्रहरी कार्यालय गरुडाका प्रमुखमाथि छानविन गर्नुपर्ने मागसमेत गरेकी छन् ।
मुद्दा मिलापत्र गर्न पैसाको प्रलोभन दिएकोमा लिन नमान्दा केही गाउँघरका नेताले प्रहरीलाई आर्थिक रुपमा प्रलोभन दिएर हत्याको घटनालाई सवारी दुर्घटनाको संज्ञा दिएर मुद्दा कमजोर पार्ने षड्यन्त्र गरेको उनले बताइन् । मृतककी श्रीमतीले फरार रहेका गढीमाई नगरपालिका– ६ धर्मपुर निवासी लालबाबू पण्डिलाई पक्राउ गर्न मागसमेत गरेकी छन् ।
उपचारमा गएका मृतकका मामाको छोरा गौरीशंकर पण्डितले प्रहरीले बलपूर्वक धम्की दिएर मोटरसाइकल दुर्घटनामा पारी घाइते भएको भनी मुचुल्कामा हस्ताक्षर गराएको दाबी उनले गरेकी छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले घटना सवारी दुर्घटना नै रहेको बताउँदै तीन जनालाई अनुसन्धानको क्रममा हिरासतमा राखेर थप अनुसन्धानको कार्य भइहेको जानकारी दिए । अनुसन्धानको क्रममा हिरासतमा गरुडा नगरपालि– ५ निवासी रामबालक पण्डित, नथुनी साह भन्ने राजकिशोर साह र देवाही गोनाही– ९ धरहरि निवासी परमात्मा पण्डित रहेका छन् ।