जनकपुरधाम २२ असार ।। प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकको गम्भीर लापरवाही घटना छानविन हुने भएको छ । अस्पतालले बिरामीलाई चेकजाँच बिनै पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको ज्यान नै जोखिममा परेको घटना समाचार मार्फत सार्वजनिक भएपछि यसलाई गम्भीर रुपले लिइएको छ ।

मंगलबार बसेको मधेश प्रदेशसभाको बैठकमा विशेष समय लिएर प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो, रानीशर्मा तिवारी र मनिष सुमनले आवाज उठाएपछि सभामुखले छानविन गर्न निर्देशन दिएका हुन् ।

सभामुख सरोजकुमार यादवले महिला बालबालिका तथा समाजिक न्याय समितिलाई छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्। समितिका सभापति जयनूल राईनले बुधवार समितिको बैठक डाकेको र आवश्यक निर्णय बैठकबाटै लिइने बताए। छानविनमा खटिएर बिरामीको अवस्था बुझ्नेदेखि लिएर चिकित्सकको लापरवाहीलाई मिहिन ढंगले छानविन गरी १५ दि भित्र प्रतिवेदन बुझाउने तयारी थालेको उनले बताए ।

बिरामीले झण्डै चार महिना अघि गराएको चेकजाँचको आधारमा चिकित्सकले पित्तथैली पत्थरीको शल्यक्रिया गर्दा महोत्तरीको जलेश्वर नगरपालिका २ घर भई हाल जनकपुरधाम उप–महानगरपालिका भाडा कोठा लिएर बस्दै आएकी विभा चौधरीको अवस्था गम्भीर बनेको छ ।
उनको उपचार अहिले काठमाडौं स्थित मेडिसिटी हस्पिटलमा भइरहेको छ । गत असार १३ गते प्रादेशिक अस्पतालमा बिनाचेक जाँचनै अप्रेसन गरेपछि उनको अवस्था गम्भीर बनेको थियो । त्यसपछि असार १६ गते उनलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

२८ फागुन २०७८ मा नै बिरामीले अल्ट्रासाउण्डमा गराएको रिपोर्टको आधारमा नै डा. अमरेश कर्णले भर्ना गरी डा. राजेश साह र डा. आश्विनी यादवले शल्यक्रिया गरेका थिए । शल्यक्रिया पश्चात अवस्था गम्भीर भएर चेकजाँच गर्दा विभा गर्दा चार महिनाको गर्भवती भएको जानकारी प्राप्त भएको थियो ।

यता शल्यक्रियामा संलग्न चिकित्सकहरुलेय आफ्नो कुनै गल्ती नरहेको भन्दै कानीनी डण्डाबाट उम्किन खोजिरहेका छन् । पीडित परिवारले उपचारमा लापरवाही गर्ने संलग्न चिकित्सकहरुलाई कडा कारबाहीको साथै क्षतिपुर्तिको माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here