काठमाडौं, २६ साउन ।। राष्ट्रपति रामचन्द्र पौडेललाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामूहिक भेटेका छन् । शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भेटघाटका क्रममा राष्ट्रपति पौडेलले दिनहुँजसो भइरहेको संसद अवरुद्धबारे चासो राखेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीबार भेटेका राष्ट्रपति पौडेलले शुक्रबार सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई भेटेका हुन् । उनीहरुले संसदमा भइरहेको गतिरोध र दलहरूको भूमिकाको बारेमा राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए । घिमिरे र तिमिल्सिनाले संविधानको संरक्षकको रुपमा राष्ट्रपति पौडेललाई दुबै सदन खुलाउन पहल गरिदिन आग्रह गरेका थिए ।
उनीहरुले अभिभावकको हिसाबले सबै राजनीतिक दलहरूसँग छलफल गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् । जवाफमा राष्ट्रपतिले संविधानको रक्षाका लागि सबै दलहरू एकजुट हुनुपर्ने बताए । राजनीतिक दलहरूबीच आपसी संवादमा अवरुद्ध संसद खुलाउन पहल गर्न घिमिरे र तिमिल्सिनालाई भनेका थिए ।
घिमिरे र तिमिल्सिनाको आग्रहपछि राष्ट्रपति पौडेलले अवरुद्ध संसद खुलाउनेबारे राजनीतिक दलहरूसँग आफूले संवाद गर्ने आश्वासन दिएका थिए ।
साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेकजाँच भइ बाहिरिएको एक क्वीन्टल सुन तस्करी प्रकरणको अनसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । लामो समयदेखि संसद अवरुद्ध हुन थालेपछि अतिआवश्यक कानुन निर्माणमा बाधा पुगेको भन्दै राष्ट्रपतिले संसद खुलाउन पहल थालेका हुन् ।