काठमाडौं, २६ साउन ।। प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको प्रधाननमन्त्रीको सचिवालयले जनाएको छ ।

श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत छलफल भएको छ । यसका निम्ति यही श्रावण ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्या भोग्नुपरेको चर्चा गर्दै ती समस्याको दिर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेश गर्न समेत निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न निर्देशन दिएका हुन् । छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत,श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी,नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल,अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव,प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखाका सचिवलगायतका विशिष्ट पदाधिकारीहरू सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here