एजेन्सी १३ भदौ ।। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार विधानसभामा विश्वासको प्रस्ताव पेस गर्दै एकपटक फेरि भारतीय जनता पार्टीमाथि कयौँ गम्भीर आरोप लगाएका छन् । केन्द्रको भाजपा सरकारले राज्यका सरकार ढाल्न हजारौँ करोड रुपैयाँ खर्च गरेको कारण देशमा पेट्रोल र डिजेलको महँगो भएको केजरीवालले दाबी गरेका हुन् ।
सीबीआईले जाँच सुरु गरेसँगै आम आदमी पार्टी र भाजपाबीच आरोप–प्रत्यारोप जारी छ । सीबीआईले दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियासँगै १५ जनाविरुद्ध एफआईआरसमेत दर्ता गरेको छ । विश्वास प्रस्ताव पेस गर्दै दिल्लीका मुख्यमन्त्री केजरीवालले आम आदमी पार्टीका एक–एक विधायक र मन्त्री कट्टर इमानदार रहेको देखाउन यसको आवश्यकता परेको जानकारी समेत दिए ।
केजरीवालले भाजपामाथि हमला गर्दै पछिल्ला ७५ वर्षमा यो सबैभन्दा भ्रष्ट सरकार भएको आरोप लगाए । प्रधानमन्त्री नरेन्द्र मोदीले ६ हजार ३ सय करोड भारु खर्च गरेर अलग–अलग राज्यको विधायक खरिद गरेको उनको भनाई थियो । -बीबीसी