बर्दिया १३ भदौ ।। गएरातिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ को कर्मेला रजकुना गाउँ र वडा नम्बर २ को अम्रेनी गाउँका गरी ४३ घर डुबानमा परेका छन् । ठाकुरबाबा-७ को कर्मेला रजकुना गाउँका ३ घरका वृद्धवृद्धा, महिला र बालबालिका गरी १० जनालाई नेपाल प्रहरी, नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जसहितको टोलीले उद्धार गरेको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

वडा नम्बर ७ कर्मेला रजकुना गाउँमा २२ घर डुबानमा परेका छन् भने वडा नम्बर २ अम्रेनी गाउँमा २१ वटा घर डुबानमा परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाढी गाउँमा पस्दा डुबानमा परेकाले तत्काल निकुञ्जसँग समन्वय गरेर तटबन्ध गर्ने मेयर लम्सालले बताउनुभयो । वडा नम्बर ७ मा बाढीका कारण घरभित्र फसेका १० जनालाई उद्धार गरी शिवशुन्दर माध्यमिक विद्यालयमा राखिएको र खाजा खानाको व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो । अन्य डुबान प्रभावित घरपरिवारलाई पनि खाजा र खानाको व्यवस्था मिलाउन नगरपालिकाको टोली डुबानग्रस्त गाउँमा खटिएको उहाँले बताउनुभयो ।

बाढी आएको खबर पाएलगत्तै ठाकुरबाबा नगरपालिकाका मेयर वडा नम्बर ७ का वडाध्यक्ष कलम विष्ट र वडा नम्बर २ का वडाध्यक्ष कमल चापागाईँसहितको टोली डुबान क्षेत्र पुगेको हो । यसैगरी वडा नम्बर ४ को खैलार गाउँ नजिक गएराति बबई नदी किनारमा फसेका दुई जनालाई पनि इलाका प्रहरी कार्यालय भुरिगाउँको टोलीले ट्युब र डोरीको सहायताबाट उद्धार गरेको मेयर लम्सालले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिका आसपासका केही घरमा बाढी पसेको छ । घरमा बाढी पसेपछि भकारी र डेहरीमा भण्डारण गरी राखेको खाद्यान्न भिजेर नष्ट भएको छ । स्थानीय बासिन्दाको माछा पोखरीमा बाढी पस्दा माछा बगेका छन् भने २ वटा भान्सासमेत भत्किएको छ ।

बर्दिया निकुञ्ज भित्रको जङ्गलबाट आएको बाढीका कारण ठाकुरबाबा नगरपालिका वडा नम्बर १, २ ६, ७, ८ का केही गाउँ हरेक वर्ष डुबानमा पर्ने गरेका छन् । बबई नदीसहित स्थानीय खोलामा बिहान सतर्कता तहसम्म बाढी आएको भए पनि अहिले घटदो क्रममा रहेको छ ।

अविरल वर्षाका कारण स्थानीय खोला र नदीमा पानीको सतह बढेकाले बाढी पस्न सक्ने बबई नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ । नदी किनारमा काठदाउरा निकाल्न र माछा मार्न नजान पनि आग्रह गरेको छ । जिल्लाभर उद्धारका लागि सुरक्षाकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कर्यालय बर्दियाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here