कास्की २९ असार ।। पर्यटकीय नगरी पोखरामा पुनः हट एयर बलुन सञ्चालनमा आउने भएको छ । यही सेप्टेम्बरदेखि नै हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको हो । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा.लि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो । यस अघि कम्पनीले सन् २०१८ नोभेम्बर १६ देखि पोखरामा हट एयर बलुनको उडान सुरु गरेको थियो ।

हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिनेछ । फेवा किनारबाट तीन देखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बलुनले सराङकोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृङखलाको अद्भूत दृश्य समेत हेर्न सकिन्छ ।

बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उडान भरिने कम्पनीले जनाएको छ । हट एयर बलुन एड्भेन्चरका लागि प्रतिनेपाली ८ हजार रुपैयाँ शुल्क तोकिएको छ भने विदेशीलाई प्रतिव्यक्ति १ सय अमेरिकी डलर ( करिब १२ हजार ६ सय रुपैयाँ) लाग्ने कम्पनीले जनाएको छ । साथै उक्त एड्भेन्चर खेलमा प्रति व्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्स समेत प्रदान गरेको कम्पनीले जनाएको छ ।

बलुनको उडान अवधि ३० देखि ४० मिनेट रहनेछ । २१ मिटर अग्लो बलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडित छ । बास्केटमा ८ जनाले एकै पटक यात्रा गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here