काठमाडौं ११ भदौ ।। नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र उम्मेदवार चयनका लागि प्रस्तावित मापदण्डको बारेमा छलफल गर्न विभिन्न नौ समूह विभाजन गरिएको थियो ।

आजको बैठकमा ९ वटा समूहकातर्फबाट राजनीतिक प्रतिवेदनमाथि सुझावहरू राख्ने क्रम सुरु भएको एमाले प्रचारविभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । शुक्रबार अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको तर्फबाट प्रतिवेदन पेस गरिएको हो ।

विपक्षी दल एमालेले ‘भागबन्डा नमिले सत्ता गठबन्धन कुनै पनि बेला भत्किने’र नयाँ गठबन्धन बन्ने निष्कर्ष निकालेको छ । अध्यक्ष ओलीद्वारा केन्द्रीय कमिटीमा शुक्रबार प्रस्तुत राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक धरालतबिना बनेकाले गठबन्धन भत्किने अनुमान गरिएको छ । ‘भागबन्डा नमिल्नासाथ भोलि कुनै पनि बेला गठबन्धन भत्किने, नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृति अभ्यासको पुनरावृत्ति हुने स्पष्ट छ,’ओलीको प्रतिवेदनमा छ ।

प्रतिवेदनमा पुँजीवाद र समाजवादका पक्षधर शक्तिबीच धुव्रीकरण हुनुपर्ने आवश्यकता औंल्याएको छ । ‘राजनीतिक धु्रवीकरणको प्रक्रियालाई तीव्रता दिँदै अन्य पार्टीबाट सक्दो पार्टी प्रवेश गराउने नीति लिने’, प्रतिवेदनमा भनिएको छ– ‘खासगरी निर्वाचन क्षेत्रको शक्ति सन्तुलनका आधारमा प्रतिस्पर्धाको अवस्था रहेको ठाउँमा जित सुनिश्चित गर्न र हामी अगाडि रहेको ठाउँमा जितलाई कायम गर्न पार्टी प्रवेशलाई ठोस र मूर्त योजना बनाई कार्यान्वयन गर्ने ।

बहुमतका लागि करिब १६ प्रतिशत मत अपुग रहेको भन्दै ओलीले यसलाई वृद्धि गर्न ठोस योजना साथ अगाडि बढ्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् । १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ओलीले गठबन्धन सरकारलाई ‘दलाल र पुँजीवादको संरक्षक र सेवक’ भनी परिभाषित गरेका छन्। गठबन्धन सरकार बनेको १३ महिनामा एकपछि अर्को संकट थपिँदै गएको एमालेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here