बुटवल ११ भदौ ।। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुटवलमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । देउवाले शनिबार दिउँसो उक्त सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगरको बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न उनी काठमाडौंबाट बिहान गएका थिए ।
१ अर्ब ३ करोडको लागतमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ११ सय १४ जना अटाउने सभाहल छ । त्यसैगरी ५ सय क्षमताका ६ वटा बैठक कक्ष, ५०-५० र १-१ सय क्षमताका दुइटा साना हल, भिआइपी, भिडिओ, अडिओ, ट्रान्सलेटर लगायतका कक्ष रहेका छन् ।
बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ बिघा क्षेत्रफलमा सभाहल फैलिएको छ । यो सभाहल आकाशबाट हेर्दा चन्द्र र सूर्य रहेको नेपालको झण्डा आकारमा रहेको छ ।