वीरगञ्ज ०२ भदौ ।। वीरगञ्जबाट एकै दिन १७ जना फरार अभियुक्तहरु पक्राउ परेका छन् । पर्सा जिल्ला अदालतबाट विभिन्न १८ वटा मुद्दामा दोषी ठहर भई फरार रहेका १७ जना अभियुक्तहरु पक्राउ परेका हुन् ।

कुटपिट सम्बन्धी ७, जालसाजी सम्बन्धी ६, लकडी चोरी सम्बन्धी ३ र चेक अनादर मुद्दाका २ वटा गरी १८ वटा मुद्दाका १७ जना फरार अभियुक्तलाई एकैदिन पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार वीरञ्ज–२० बस्ने ५० वर्षीया अमनी पैठानीन, ५८ वर्षीया जैतुनेसा पठानीन, ६० वर्षीय बिगा खाँ पैठान, ६४ वर्षीय कासिम महम्मद खाँ पैठान, ५५ वर्षीय देव बहादुर प्रसाद यादव, ५२ वर्षीय शेषनाथ बरै, ७३ वर्षीय ठग राउत बरै र सोही स्थान बस्ने रामराजप्रसाद चौरसियालाई पक्राउ गरेको हो ।

त्यसैगरी वीरगञ्ज १४ पिपरा बस्ने ५० वर्षीय पुष्पराज पटेल भन्ने पुष्पराजप्रसाद कुर्मी, ३४ वर्षीय जितेन्द्रप्रसाद कुर्मी, वीरगञ्ज– २८ बगही बस्ने ७० वर्षीय लक्ष्मणठाकुर लोहार, ६४ वर्षीय सितारामठाकुर लोहार, ६४ वर्षीय शंकरठाकुर लोहार, ४६ वर्षीय गोपालप्रसाद सोनार, वीरगञ्ज–२९ उदयपुर बस्ने ५० वर्षीय छोटी यादव, वीरगञ्ज– २० हरपतगञ्ज बस्ने ७० वर्षीय पन्नालाल साह कलवार र ६५ वर्षीय किशोरी साह कलवार पनि पक्राउ परेका छन् ।

साउन ३१ गते पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा पठाइएको थियो । कुटपिट मुद्दामा ६ महिना कैद सजाय तोकिएका छोटु बाहेक अन्य अभियुक्त अदालतले तोकेको जरिवाना रकम तिरेर घर फर्किएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here