जनकपुरधाम ०५ साउन ।। उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८/७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७८/७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई हजार ३२२ मुद्दा फछ्र्योट गरिएको थियो ।

अदालतका रजिष्ट्रार खङ्गराज अधिकारीका अनुसार आव २०७७/७८ देखि जिम्मेवारी सरेर आएका दुई हजार ४६६ मुद्दामध्ये एक हजार ७४४ र आव २०७८/७९ मा नयाँ दर्ता भएका दुई हजार २५८ मुद्दामध्ये ५७८ मुद्दा फछ्र्योट गरिएका थिए । अघिल्लो आर्थिक वर्ष बाट जिम्मेवारी सरेर आएका ७२२ र आव २०७८/७९ मा नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ६८० मुद्दा फछ्र्योट गर्न बाँकी रहेको अधिकारीले जानकारी दिए ।

आव २०७८/७९ मा सरल किसिमका १२२, समान्य किसिमका ४५६, विशेष किसिमका ९९७ तथा मार्ग समूहमा नपर्ने/डिसीएम लागू हुनु पूर्वका ७४७ मुद्दा फछ्र्योट भएका छन् । आव २०७७/७८ मा सो अदालतले ३३ प्रतिशत अर्थात् एक हजार २१६ मुद्दा फछ्र्योट गरेको थियो भने आव २०७६/७७ मा ५२ दशमलव २० प्रतिशत अर्थात् दुई हजार ७२ मुद्दा फछ्र्योट गरेको थियो ।

सो अदालतले आव २०७५/७६ मा सबैभन्दा बढी ७२ दशमलव ९६ अर्थात् तीन हजार २१२ मुद्दा फछ्र्योट गरेको थियो । कोरोना महामारी, कानुन व्यवसायीको आन्दोलन र त्यसपछि न्यायाधीशहरूको सरुवालगायत कारणले अपेक्षित रूपमा मुद्दाको फैसला गर्न नसकिएको अदालतका कामु मुख्य न्यायाधीश विनोद शर्माले बताए । अघिल्लो आवको तुलनामा यसवर्ष बढी मुद्दा फैसला गर्न सफल भएको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here