परासी २५ असार ।। इन्धनदेखि कोइलाको अत्याधिक मूल्यवृद्धिका कारण नवलपरासीका इँट्टा उद्योगहरु बन्द हुने भएका छन् । एक वर्षको अवधिमा इन्धन, कोइलाको अत्यधिक मूल्यवृद्धि हुनुको साथै माटोको अभावले पनि उद्योगहरु बन्द गर्नुपर्ने अवस्था आएको नवलपरासीका इँट्टा व्यवसायी एंव नेपाल इँट्टा उद्योग महासंघका केन्द्रीय सदस्य कृष्ण नारायण श्रेष्ठले बताए ।

जिल्लामा १७ वटा उद्योग छन् । ती उद्योगहरुबाट दैनिक ११ लाखको हाराहारीमा इँट्टा उत्पादन हुँदै आएको श्रेष्ठले जानकारी दिए । जिल्लामा उत्पादनकै हाराहारीमा इँट्टाको माग थियो । केही महिना पहिले प्रति केजी २५ रुपैयाँ पर्ने कोइला अहिले ४२ रुपैयाँ पुगेको छ । आर्थिकमन्दीसँगै इन्धनको मूल्य पनि अचाकाली बढ्यो। त्यसमाथि माटोको अभाव र मजदुर पाउन छाडेपछि उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो,’ श्रेष्ठले भने ।

बैंकले लगानी गर्न छाडेपछि व्यक्तिहरुले घर बनाउन छाड्नु र ठूला संरचनाका भवनहरु पनि निर्माण हुन नसकेपछि इँट्टाको माग धेरै नरहेको श्रेष्ठको भनाइ छ। जिल्लामा अहिले करिब ६ करोड संख्याका इँट्टा स्टकमा छन् । पहिला भारतबाट कोइला आउँथ्यो अहिले अमेरिका, अष्ट्रेलिया र इण्डोसियाबाट मगाउनुपर्छ। त्यसमाथि सरकारले तेस्रो मुलकमा पैसा पठाउन रोकेको छ। जसले गर्दा कोइला खरिद गर्नै नपाएपछि उद्योग बन्द गर्नुको विकल्प छैन,’ बालाजी इँट्टा उद्योग सरावलका सञ्चालक कुलदिप आचार्यले भने ।

सबै क्षेत्रमा मूल्यवृद्धि भए पनि इँट्टाको मूल्यवृद्धि हुन नसकेको व्यवसायीहरुको भनाइ छ । अहिलेको बजार मूल्यअनुसार जिल्लामा प्रति इँट्टा १६ रुपैयाँ छ । उद्योगमा ७ हजारले प्रत्यक्षसहित १२ हजारले रोजगारी पाएका थिए। उद्योग बन्द भएपछि उनीहरु सबै बेरोजगार भएको नवलपरासी इँट्टा उद्योग संघले जनाएको छ । कोइला अभाव र मूल्यवृद्धिले भारत र पाकिस्ताका उद्योगहरु बन्द भइसकेकोले अब नेपालका सबै उद्योगहरु पनि बन्द हुने अवस्थामा पुगेको महासंघका केन्द्रीय सदस्य श्रेष्ठले बताए ।

‘केही दिनमा महासंघले मूल्यवृद्धि र कच्चा पदार्थको अभावका कारण देशभरकै उद्योगहरु बन्द भएको घोषणा गर्दै छ,’ श्रेष्ठले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here