पर्सा २५ असार ।। पर्सा प्रहरीले १५ वर्षीया बालिकालाई भारतमा बेच्ने दुईजनालाई नियन्त्रणमा लिएको छ । भोजपुरी चलचित्रको हिरोइन बनाइदिने प्रलोभन देखाइ १५ वर्षीया किशोरीलाई भारतमा बेच्ने रौतहटको गौर नगरपालिका-२ घर भई पर्साको वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने चमेली देवी र भारतको विहार राज्य जिल्ला सितामढी, बासपट्टी पचरा बस्ने रोशन तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
२०७८ माघ १२ गतेदेखि १५ वर्षीया बालिका हराएकी थिइन् । पक्राउ परेका दुवै जनाले किशोरीलाई भोजपुरी चलचित्रको हिरोईन बनाइ दिने प्रलोभन देखाइ भारतको बिहार राज्य, पूर्वी चम्पारण, झिटकैया गाउँमा लगेर एक भारतीय नागरिकसँग तिस हजार भारतीय रुपाैयाँमा बेचेको प्रहरीले जनाएको छ ।
ती भारतीय नागरीले पीडित किशोरीलाई विभिन्न कार्यक्रमहरूमा अश्लील नृत्य गर्न बाध्य बनाइ कसैसँग सम्पर्क गर्न नदिइ शारीरिक र मानसिक यातना दिइ राखेको अवस्थामा किशोरी असार २१ गते भागेर अभिभावकको सम्पर्कमा आएकी थिइन् ।
प्रहरीले पीडित किशोरीसँत सोधपुछ गर्दा उनलाई बेचबिखन गर्ने चमेली र तिवारीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता ओमप्रकाश खनालले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।