एजेन्सी १४ असार ।। नीता ढुंगाना र हरिहर अधिकारीकाे निर्माण तथा अभिनय रहने फिल्म ‘ह्रस्व दीर्घ’ मा एकपछि अर्को भारतीय कलाकार अनुबन्धित भइरहेका छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने यो फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दमलाई अनुबन्ध गरिएको छ । उनले अरू सबै कलाकारभन्दा महँगो पारिश्रमिक लिने गरी सम्झौता गरेको निर्माण टिमले जनाएको छ ।

हास्य अभिनयबाट चर्चित ब्रह्मानन्दमले संसारमै सबभन्दा धेरै फिल्म खेल्ने जीवित कलाकारका रूपमा गिनिज वर्ल्ड रेकर्ड राखेका छन् । सन् असी दशकको मध्ययता तमिल र तेलुगू भाषामा बनेका प्रायः फिल्ममा उनले आफ्नो उपस्थिति देखाउँदै आएका छन् । ‘गिनिज वर्ल्ड रेकर्ड राखेका अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्ममा खेल्नु हाम्रा लागि ठूलो कुरा हो,’ नीताले भनिन्, ‘यसले हाम्रो फिल्मको कास्टिङ बलियो बनाएको छ।’

यसअघि ‘ह्रस्व दीर्घ’ मा अन्य भारतीय कलाकारहरू सुनिल वर्मा, प्रदीपराज रावत र अली अनुबन्धित भइसकेका छन् । सुनिल आफ्नो पछिल्लो फिल्म ‘पुष्पा’ बाट चर्चामा छन् । यो फिल्मले नेपालमा पनि राम्रो व्यवसाय गरेको थियो । त्यस्तै प्रदीपराजले ‘गजिनी’ को खलनायक भूमिकाबाट निकै चर्चा कमाएका थिए । अली दक्षिण भारतीय फिल्मका चर्चित हास्य कलाकार हुन् ।

यो फिल्मको छायांकन पनि भारतीय छायाकार कबीरलालले गर्ने पक्का भइसकेको छ । उनले ‘हिरोपन्थी-२’ र ‘भैयाजी सुपरहिट’ फिल्म छायांकन गरेका थिए । नेपाल र भारतमा सुटिङ गरिने ‘ह्रस्व दीर्घ’ मा धनन्जय घलानी कास्टिङ निर्देशक हुन् । यो फिल्ममा सरोज खनाल र सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ ।

दसैंपछि फिल्मको छायांकन सुरू हुने निर्देशक पन्तले बताए। नीताले पहिलोपटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको यो फिल्म भारतको ‘रामोजी स्टुडियो’ मा छायांकन गरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here