वीरगन्ज ०७ असार ।। वीरगन्जस्थित नापी कार्यालय पर्साका एक जना बिचौलिया सेवग्राहीसँग १ लाख २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१३ मुर्ली घर भएका ६० वर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डे रहेका छन् । निजामति कर्मचारीको पोशाक लगाएर नापी कार्यालयमा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम लिँदै आएका पाण्डे घुस रकमसहित मङगलबार पक्राउ परेका हुन् ।

सेवाग्राहीले दिएको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरिक्षक विशाल मल्लको नेतृत्वममा खटिएको प्रहरी टोलीले वीरगन्जको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पाण्डेलाई रंगेहात पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका-१५ लक्ष्मणवा निवासी राजनारायण झा, नयाँ नापीको लालपुर्जाका लागि विगत तीन महिनादेखि नापी कार्यालयमा धाउँदै आएका थिए । नापी कार्यालयका कर्मचारीले अनेक बहानामा झाको काम गर्न आलटाल गरेपछि पाण्डेको सम्पर्कमा पुगेका झालाइ पाण्डेले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएका थिए । त्यसका लागि पाण्डेले झासँग घुस बापत १ लाख २५ हजार रुपैयाँ मागेका थिए ।

पाण्डेले माग गरेको रकम बैंकबाट रकम निकालेर उनलाइ बुझाउने क्रममा पाण्डेलाइ प्रहरीले रंगे हात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । पक्राउ परेका पाण्डेविरुद्ध ठगी कसुरमा कारवाही अगाडि बढाईने प्रहरी उपरीक्षक बस्नेतले बताए ।

पक्राउ परेका पाण्डे नापी कार्यालयका कर्मचारीको मिलोमतोमा वर्षौदेखि नापी कार्यालयको दोश्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोशाकसमेत लगाएर बस्ने गरेका थिए ।

मङगलबार पाण्डे पक्राउ परेपछि नापी कार्यालयले झालाई लालपुर्जा तत्काल उपलब्ध गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here