बारा १५ जेठ ।। जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको ह-त्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ ।

वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले थुनामा राखेर शारीरिक र मानसिक यातना दिँदै आएको बालिकाकी आमाले बताएकी छिन् ।

थुनामा राखिएकी छोरीले घटनाबारे सत्यतथ्य बताउँदा पनि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत नायब प्रहरी निरीक्षक सागर राणालगायत प्रहरीले निर्घात कुट-पिट गरेर आफूअनुसारको बयान लिन खोजेको उनले बताइन् । वैशाख २९ गते राति २ बजेतिर छोरी निरुता सुतेको कोठामा राकेशभक्त पुगेर छाती समाउन खोजेपछि छोरीले प्रतिवाद गरिन्,’ निरुताकी आमा दुर्गादेवीले घटना विवरण सुनाइन्, ‘त्यसक्रममा राकेशले लगाएको घडी कोठामै खस्यो ।

हातमा बियरको बोतलसहित कोठामा छिरेका राकेशले जबरजस्ती करणी गर्न खोजेपछि बाध्य भएर छोरीले बियरको बोतल खोसेर टाउकोमा हान्दा उनी घाइते भए । दुई तलामाथिको कोठाबाट निस्केर भाग्न खोज्दा राकेश गेटमा ठोक्किएर अचेत भएर लडेको दुर्गादेवीले बताइन् ।

उनी लडेको देखेर दुर्गादेवीका पति चित्रबहादुर क्षेत्री, उद्धव अधिकारी, खगेन्द्र खटपाललगायतले एम्बुलेन्समा राखेर उपचारका लागि सिमराको अल्पाइन अस्पताल हुँदै वीरगन्जको बयोधा अस्ताल लगेको दुर्गादेवीले सुनाइन् ।

उनका पति चित्रबहादुर माओवादीबाट वडा सदस्यमा चुनाव लडेका र वैशाख २९ गते राति चुनावबारे कुरा गर्न घरमा पार्टीका अन्य कार्यकर्ता तथा नेता जम्मा भएका थिए । घरमा आएका नेता तथा कार्यकर्तालाई नास्ता गराउँदा छिमेकीसमेत रहेका राकेशलाई पनि चिउरा र मासु खुवाएको उनले बताइन् ।

चिउरा र मासुसँगै बियर खाएर उनी राति १२ बजेतिर आफ्नो घर गएका थिए । राकेश घर गएपछि पुनः राति १ः३० बजेतिर घरमा बियर माग्न आएपछि फेरि बियरको बोतल दिएको दुर्गाले सुनाइन् । घरमा आएकालाई छतमा सुत्ने व्यवस्था भए पनि राकेश कुर्सीमै सुतेका थिए । केही समयपछि २ बजेको हाराहारीमा राकेश बियरको बोतल हातमा लिएर छोरी सुतेको कोठामा पुग्दा यो घटना हुन पुगेको उनले बताइन् ।

घटनाबारे यथार्थ कुरा जिल्ला प्रहरी कार्यालय बाराको क्राइम टोलीबाट खटेका सागर राणा र इलाका प्रहरी कार्यालय सिमरालाई बताउँदासमेत छोरीलाई कुटपिट गुर्नका साथै परिवारका अन्य सदस्यलाई पनि कहिले थुनामा राख्ने त कहिले छोड्ने गरेर शारीरिक र मानसिक यातना दिने गरेको उनले सुनाइन् ।

इलाका प्रहरी कार्यालय सिमरामा भेटिएकी निरुताकी आमा दुर्गादेवीले सत्य कुरा कसैले नपत्याएको बताइन् । थुनामा सोधपुछका नाममा सागर राणाले ‘राकेशसँग तेरो लसपस थियो र त सुतिस् होला भन्, तैंले मात्र राकेशलाई मार्न सक्दिनस्’ भन्दै छोरीलाई कुटपिट गरेको दुर्गादेवीको आरोप छ

आफूलाई पनि प्रहरीले छोरीसँगै एक दिन थुनामा राखेको उनले बताइन् । त्यसैबेला प्रहरीको कुटाइबाट छोरीको खुट्टा फुलेको र निलडाम परेको आफूले देखेको उनले बताइन् ।

प्रहरीको कुटाइबाट छोरीको खुट्टा फुलेको देखेपछि आफूले भित्रै तेल मगाएर मालिससमेत गरिदिएको दुर्गादेवीले सुनाइन् । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले राकेशभक्तको हत्याबारे अनुसन्धान भइरहेकाले केही भन्न नसकिने बताएका छन् ।

 

                                                                                यो खबर आजको नागरिक दैनिकले छापेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here