काठमाडौं ०२ असार ।। ललिता निवास जग्गा प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ सुरू भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको सुनुवाइ भइरहेको छ ।
सोमबार बहस हुँदाहुँदै समय सकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम प्रहरी हिरासतमा छन् ।
विना कारण थुनेको भन्दै पक्राउ परेकाहरूले असार १३ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।
सोही प्रकरणमा मुछिएका तर सर्वोच्चबाट स्टेअडर लिएका कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको थियो । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान गरिरहेको छ ।