एजेन्सी, २४ भदौ ।। एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तानबिच भिडन्त हुँदैछ । श्रीलङ्काको प्रेमदासा स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा ३ बजेदेखि सुरु हुनेछ । सुपर फोरअन्तर्गत पाकिस्तानले यसअघि बङ्गलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ ।

एसिया कपमा भारत र पाकिस्तानबिच दोस्रो पटक भिडन्त हुदैछ । समूह चरणमा भएको खेल वर्षाले रद्द भएपछि दुवैले अङ्क बाँडेका थिए । उक्त खेलमा भारतले पहिला ब्याटिङ गरेर २६६ रन बनाए पनि वर्षाले पाकिस्तानको ब्याटिङ सुरु नै हुन सकेको थिएन भारत र पाकिस्तानबिचको यो खेलमा एक दिन रिजर्भ डे हुने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले कोलम्बोमा वर्षाको अनुमानपछि यो खेलमा एक दिन रिजर्भ डे हुने औपचारिक घोषणा गरेको छ । जारी एसिया कपमा फाइनल बाहेक यस खेलको लागि मात्र रिजर्भ डेको व्यवस्था गरिएको हो ।

एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा भारत र पाकिस्तान अहिलेसम्म १३३ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले ७३ खेलमा जित हासिल गरेको छ भने भारतले ५५ खेलमा जितेको छ । त्यस्तै ५ खेलको नतिजा निस्केको छैन ।

त्यस्तै एसिया कपको इतिहासमा भने भारत र पाकिस्तान यसअघि १७ पटक आमने सामने भएका छन् । जसमा भारतले ९ खेल जितेको छ भने पाकिस्तानले ६ खेल जितेको छ । त्यस्तै २ खेल नतिजाविहीन बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here