रौतहट १३ भदौ ।। रौतहट जिल्लाका अधिकांश पालिकाले आफ्नो नगर क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्न आलटाल गर्दै आएका छन् । विद्युत् प्राधिकरणले ५ वर्षदेखि बक्यौता तिर्न लिखित र मौखिक ताकेता गर्दै आए पनि पालिकाहरूले अटेर गरेका हुन् । जिल्लाका चन्द्रपुर, गरुडा, गुजरा र वृन्दावन नगरपालिकाले पोल बत्तीको ५ करोड २६ लाख रकम तिर्न बाँकी रहेकोे विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणले बक्यौता रकम तिर्न पालिकालाई पटकपटक ताकेता गर्दै आएको छ । सडक बत्ती प्रयोग गरेबापत सबैभन्दा बढी चन्द्रपुरले प्राधिकरणलाई १ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, गुजराले १ करोड ६५ लाख ९१ हजार रुपैयाँ तिरेको छैन । वृन्दावन नगरपालिकाले १ करोड २२ लाख ३० हजार र गरुडा नगरपालिकाले ६७ लाख ३७ हजार रुपैयाँ बक्यौता केन्द्रलाई तिर्नुपर्नेछ । सडक बत्ती जडान गरेदेखि महसुल नबुझाउँदा बक्यौता रकम धेरै भएको हो ।

चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सडक बत्तीको बक्यौता असुलीको प्रक्रिया अघि बढाइएको बताए । ‘बक्यौता तिर्न ताकेता सुरु गरिसकेका छौं,’ उनले भने, ‘अब छिटै असुल गर्छौं ।’ चन्द्रपुरका नगर प्रमुख सञ्जय काफ्लेले सडक बत्तीको बक्यौता रकमबारे आफूलाई थाहा नभएको बताए । ‘मलाई अहिलेसम्म यति धेरै रकम बक्यौता छ भन्ने थाहै छैन,’ उनले भने, ‘यस विषयमा के भएको हो बुझ्छु । बाँकी छ भने तिर्नुपर्छ ।

गरुडाका नगर प्रमुख कन्थमणि बैसवालले पोल बत्तीको बक्यौता रकमबारे सोधपुछ गर्ने बताए । अधिकांश नगर प्रमुखले बक्यौता रकमबारे अनभिज्ञता रहेको जनाए । पोलमा जडान गरिएका बत्ती जलेर बल्न छाडेको स्थानीयको गुनासो छ । ‘नाममात्रको बत्ती जडान भयो,’ स्थानीय भरत आचार्यले भने, ‘यस विषयमा स्वतन्त्र रूपमा छानबिन हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here