काठमाडौं ३० चैत ।। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई स्थानीय चुनावमा कसरी सहभागी गराउने भनेर छलफल गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गर्दै आएको सो पार्टीका मागबारे औपचारिक छलफल सरकार प्रवेश गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा विप्लवको पार्टीले अघि सारेका मागबारे छलफल भए पनि कुनै निर्णय हुन नसकेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । ‘विप्लवको पार्टीले चुनावमा भाग लिन वातावरण बनाइदिनुपर्यो भनेर सरकारसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग गरेको आग्रहबारे मन्त्रिपरिषद् बैठकमा छलफल भयो’, ती मन्त्रीले भने, ‘तर निर्णय कुनै हुन सकेन ।
चुनाव चिन्ह, मतदाता नामावली, उम्मेदवार लगायतका विषयहरू छन् ती विषयमा सरकारले निर्णय गरोस् भन्ने सो पार्टीको भनाइ छ’, विप्लवका मागबारे गृहमन्त्री बालकृष्ण खाँणले ब्रिफिङ गरेका थिए । ‘त्यसक्रममा यदि विप्लव निर्वाचनमा सहभागी भए उनको पार्टीलाई चुनाव चिह्न समेत दिन सकिनेमा पुगिएको छ,’ अर्का एक मन्त्रीले भने, ‘अरू मागमा पुन छलफल आवश्यक रहेको देखियो ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले विप्लवलाई देखाएर वैशाख ३० को स्थानीय निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताउँदै आएको छ । यसअघि निर्वाचनमा सहभागी हुने दलहरूलाई निर्वाचन आयोगले दल दर्ता गर्न आव्हान गरेको समयसीमा सकिइसकेको छ । आयोगको समयसीमामा विप्लवको पार्टी दर्ता भएको छैन । आयोगमा दर्ता भएका दलहरूका आधारमा आयोगले निर्वाचनको तयारीलाई तीव्र पारेको छ ।