काठमाडौं, ०२ कार्तिक ।। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कात्तिक १२ गते नेपाल भ्रमणमा आउने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महासचिव गुटेरेसको कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसअघि महासचिव गुटेरेस असोज २६ गते नेपाल आउने भनिए पनि इजरायल-प्यालेस्टाइन युद्धका कारण उनको भ्रमण स्थगित भएको थियो । परराष्ट्र मन्त्रालयले गुटेरेसको अनुकुलतामा नयाँ मिति तय गरिने बताएको थियो ।

द्वन्द्वकालीन मुद्दाको किनारा लगाउन राजनीतिक दलहरूलाई सकस भइरहेका बेला महासचिव गुटेरेस नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा उनी काठमाडौं आउन लागेका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका बेला असोज पहिलो साता प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसलाई भेटेर नेपाल भ्रमणको निम्तो दिएका थिए ।

नेपाल बसाइका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, राजनीतिक दलका नेतासँग भेट गर्ने कार्यक्रम तय भएको थियो । गुटेरेसले द्वन्द्वकालका पीडितहरूसँग समेत भेट गर्ने तयारी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here