जनकपुरधाम २० चैत ।। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भारतको रक्सौलबाट काठमाण्डु रेल सेवा विस्तार गर्ने योजना रहेको बताएकी छिन् । जनकपुरधाम स्थित रेल्वे स्टेशनमा शनिबार आयोजित जयनगर–कुर्था रेल सेवा उद्घाटन समारोहमा मन्त्री यादवले भारतको रक्सौलबाट सिमरा र सिमराबाट काठमाण्डु सम्म रेल सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिइन् ।

पहिलो चरणमा जयनगरबाट बिजलपुरासम्मको ७० किलोमिटर रेल्वे ट्रयाक तयारी भइसकेको छ भन्दैे अब हस्तान्तरण हुन मात्र बाँकी छ, हस्तान्तरण भएपछि बिजलपुर सम्म रेल चल्ने छ , यसका साथै विराटनगरबाट बर्दिवाससम्म पनि रेल सेवा विस्तार गर्ने तयारी भइरहेको बताइन् । यसरी रेल सेवाको विस्तार भएपछि नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध अझै प्रगाढ बन्ने दाबी गर्दै मन्त्री यादवले नेपाल र भारतबीच सरकार ऊर्जा, आर्थिक विकास र कन्टेक्टीभिटी विस्तारलाई जोड दिएको उल्लेख गरिन् ।

रेल चलेपछि नेपालको बेरोजगारीको अन्त्य हुनुका साथै आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले विकास र समृद्धिका लागि यातायात पूर्वाधार विस्तारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरिन् । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले रेल सेवा सञ्चालनले मधेश प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सदिऔँदेखि रहेको नेपाल–भारत सम्बन्धलाई रेल सेवाले अझै प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै उनले रेल सेवा सञ्चालनका लागि सङ्घीय सरकारले खेलेको भूमिकाको प्रशंसा समेत गरे ।

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जयनगर– कुर्था रेल सेवा सञ्चालन भए संगै जनकपुरधामको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । नेपालका लागि कार्यवहाक भारतीय राजदूत नाव्या खम्पाले नेपालको आर्थिक विकासलाई भारत सरकार नेपाल सरकारसँग मिलेर काम गर्न चाहेको बताउंदै रेल सेवा यसैको उदाहरण भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here