रौतहट २३ फगुन ।। रौतहटमा सुत्केरी महिलाको शैलक्रिया पस्चात पेटमै सरकारी चिकित्सकले स्टिच निडिल सुई छाडेको ठुलो लापरवाही बाहिरीएको छ । दुर्गा भगवती गाउँपालिका १ छतवनाका जितेन्द्र महतोकी १९ वर्षीय श्रीमती अम्बिका महतोको शैलक्रिया गर्ने क्रममा डाक्टरहरुले पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएको घटना बाहिरिएको हो ।

रौतहटको गंगा पिपरामा रहेको सरकारी अस्पतालमा प्रसूति पीडा भएपछि अम्बिकालाई भर्ना गरिएको थियो । उनको शैलक्रियामा डा. संजितकुमार साह नेतृत्वको टोली खटिएको थियो । गएराती अम्बिकालाई सुत्केरीको बेथा लागेपछि नजिकमा रहेको गंगा पिपरा अस्पतालमा पुर्याइएको उनको परिवारजनले जानकारी दिएको छ । सुरुमा डा. संजितकुमारको टोलीले तत्काल शैलक्रिया गरेको थियो ।

शैलक्रियापछि स्वस्थ बालिकाको जन्म भएको जितेन्द्रको परिवारले जानकारी दिएको छ । अप्रेशन पस्चात डाक्टरले टाँका लगाउने स्टिच निडिल सुई पेटमै भुलेको बताइएको छ । शैलक्रिया गरिएको केही घण्टामै सुत्केरी महिलाको पेटमा असह्य पीडा भएको र डाक्टरहरुकै आग्रहमा एम्बुलेन्स मगाएर अम्बिकालाई चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा लगिएको थियो ।

यता चन्द्रपुर अस्पतालका प्रमुख डा. सुभाष चौधरीले सोमबार बिहान महिलाको पेटको पुनः अपरेसन गरेर पेटभित्र छुटेका २ थान स्टिच निडिल सुई निकालिएको जानकारी दिए ।

अहिले महिला र बच्चा दुबैको अवस्था सामान्य रहेको चन्द्रपुर अस्पतालले जनाएको छ । रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले घटनाको पुष्टि गर्दै त्यसमा डाक्टरको चरम लापरबाही रहेकोे प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here