सिरहा २१ चैत ।। फेसबुकका साथीले खाजा खान बोलाएर बलात्कार गरेको आरोपमा सिरहाका एकजना पक्राउ परेका छन् । सिराहाको सिराहा नगरपालिकाका २९ वर्षीय मुकेशकुमार यादवले ३६ वर्षीया महिलालाई ५ दिनअघि बलात्कार गरेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

फेसबुकको माध्यमबाट रामेछापको मन्थलीमा यादव र ती विवाहित महिलाको भेट भएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार फेसबुक मेसेन्जरमा कुराकानी हुँदा भेटेर खाजा खाने योजना बनेको थियो ।

मन्थलीकै एक होटलमा यादवले महिलालाई कोठा बन्द गरी जबर्जस्ती बलात्कार गरेको महिलाले दिएको उजुरीमा उल्लेख छ । कतै भनिस् र हल्ला गरिस् भने मारिदिन्छु भन्दै धम्काएर बलात्कार गरेपछि यादव फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । फेसबुकमा साथी हुनु बाहेक उनीहरुबीच चिनजान थिएन ।

घटना पश्चात भाग्दै गरेका यादवलाई शनिबार साँझ पक्राउ गरी जबर्जस्ती करणीको अभियोगमा अनुसन्धान थालिएको प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here