सिरहा २७ माघ ।। लामो समयदेखि थन्किएर बसेको जग्गा धनीलाई प्रमाण पुर्जा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले वितरण गर्दै छिन् । सिरहामा गाउँव्लकमा रहेका भूमि विहीनहरूलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडी बढिरहेको मन्त्री श्रेष्ठले बताएकी छन् ।
सिरहाको मिर्चैया नगरपालिका वडा नं. १ र २ ( साविक रामपुर बिर्ता र मल्हनियाँ खोरी ) मा बुधवार विशेष नापी मार्फत नापी गरिएको गाउँब्लक जग्गाको पुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालयको प्राथमिकतामा नपरेको गाउँब्लकमा लालपूर्जा वितरण कार्यलाई आफूले मन्त्रालय सम्हालेपछि पहिलो प्राथमिकता बनाएर काम गरिरहेको बताएकी हुन् ।
मन्त्री श्रेष्ठले जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै २०२१ साल यता नापी हुँदा गाउँब्लकका रूपमा लामो समयदेखि थन्किएर बसेको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम शुरु गरेको र यस वर्षभित्र लालपूर्जा वितरण गरिसक्ने लक्ष्यसहित अभियान नै सञ्चालन गरिरहेको पनि बताइन् ।
उनले जमिन भएर पनि लालपूर्जा नहुँदा भूमिविहीन बनिरहेकाहरूको समस्या देशभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै अब कोही पनि भूमिहीन भएर बस्नु नपर्ने बताइन । संविधानमा भएका नागरिकको हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न आफू प्रतिबद्ध भएर लागेको भन्दै मन्त्री श्रेष्ठले लामो र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्ने गरी अगाडी बढिरहेको पनि बताइन् ।
सिरहामा गाउँब्लकमा रहेका एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिसक्ने कार्यक्रम रहेको छ । यसै क्रममा यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी थिइन् ।