एजेन्सी, २५ जेठ ।। डेनमार्क, ग्रीस, पाकिस्तान, पानामा र सोमालिया दुई वर्षको कार्यकालका लागि संयुक्त राष्ट्र सङ्घ (यूएन) सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएका छन् ।

मतदान प्रक्रियाको अध्यक्षता गर्ने वर्तमान महासभा अध्यक्ष डेनिस फ्रान्सिसले नतिजा घोषणा गर्नुभएको हो । नवनिर्वाचित सदस्यहरूले सन् २०२५ जनवरी १ मा आफ्नो नयाँ जिम्मेवारी लिनेछन् । पाँचै वटै देश निर्विरोध निर्वाचित भएका हुन् ।

नवनिर्वाचित सदस्यहरूले इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्विट्जरल्यान्डका निःवर्तमान अस्थायी सदस्यहरूलाई प्रतिस्थापन गर्नेछन् । उम्मेदवारले सुरक्षा परिषद्को अस्थायी सिट सुरक्षित गर्नका लागि महासभाको बैठकमा उपस्थित र मतदान गर्ने राष्ट्र सङ्घका दुईतिहाइ सदस्य राष्ट्रहरूको समर्थन प्राप्त गर्नुपर्छ ।

नवनिर्वाचित सबै पाँच सदस्यले यसअघि सुरक्षा परिषद्‍मा काम गरिसकेका छन् । पाकिस्तानले सात पटक, पानामाले पाँच पटक, डेनमार्कले चार पटक, ग्रीसले दुई पटक र सोमालियाले एक पटक सेवा दिएको थियो ।

सुरक्षा परिषद्‍मा १५ सदस्य छन्, जसमध्ये पाँच स्थायी छन् । बेलायत, चीन, फ्रान्स, रुस र संयुक्त राज्य अमेरिका स्थायी हुन् । सुरक्षा परिषद्लाई संयुक्त राष्ट्र सङ्घको सबैभन्दा शक्तिशाली निकाय मानिन्छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने काउन्सिलले कानूनी रूपमा बाध्यकारी निर्णय गर्नसक्छ र प्रतिबन्ध लगाउने र बल प्रयोग गर्ने अधिकार दिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here