काठमाडौँ, २५ जेठ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी आइतबार भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल सम्हाल्ने क्रममा हुन लागेको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत जान लागेका हुन् ।

जुन मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई स्वीकृति दिइएको छ, सोही बैठकबाट भारतका लागि नेपाली राजदूतलगायत अन्य ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णयसमेत भएको छ । एकातिर राजदूत फिर्ता बोलाउने, अर्कोतिर त्यही देशको भ्रमणमा प्रधानमन्त्री जान लागेको भन्दै अहिले विभिन्न टिप्पणी भइरहेको छ ।

कूटनीतिक क्षेत्रमा यसले राम्रो सन्देश नदिएको कूटनीतिज्ञहरूको बुझाइ छ । प्रधानमन्त्री प्रचण्ड भारतबाट फर्केपछि राजदूतलाई फिर्ता बोलाउनु पर्थ्यो वा उनी भ्रमणमा जानुअघि फिर्ता बोलाएर अर्को नियुक्त गरेर जाँदा राम्रो हुन्थ्यो भन्ने उनीहरूको तर्क छ ।

आफ्नो राजदूतलाई फिर्ता बोलाइसकेपछि देशको कार्यकारी प्रमुख त्यहाँ जानुले राम्रो सङ्केत नदिने कूटनीतिक मामिलाका जानकार बताउँछन् ।

भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालाई मन्त्रीपरिषद् बैठकले फिर्ता बोलाउने निर्णय गरिसकेको छ । कुनै राजदूतबारे चित्त नबुझेको हो भने सरकारले फिर्ता बोलाउन सक्ने तर कतिबेला बोलाउँदा राम्रो हुन्छ भन्ने कुराको पनि ख्याल गर्नुपर्ने कूटनीतिज्ञहरू बताउँछन् ।

पूर्वराजदूत डा.दिनेश भट्टराई भन्छन्, ‘प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणपछि राजदूत फिर्ता बोलाउँदा हुन्थ्यो । भ्रमणकै क्रममा राजदूत फिर्ता बोलाउनुले कूटनीतिक क्षेत्रमा राम्रो सन्देश गएको छैन ।’

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहँदा राजदूत शर्मा त्यहीँ भए पनि सरकारले फिर्ता बोलाइसकेको राजदूत प्रधानमन्त्रीसँग रहनुले राम्रो सन्देश जाँदैन,’ पूर्वराजदूत भट्टराईले भने, ‘मोरल्ली हिसाबले फिर्ता बोलाइसकेको भइसकेका राजदूत प्रधानमन्त्रीसँग रहनुहुन्छ कि रहनुहुन्न, त्यो उहाँको कुरा हो तर प्रधानमन्त्रीसँग रहँदा राम्रो सन्देश जाँदैन ।’

परराष्ट्र विज्ञ एवं पूर्व राजदूत जयराज आचार्यले पनि यो सरकारले यस्तो किन गरेको हो भन्ने आफूले नबुझेको तर कूटनीतिक क्षेत्रमा यसले राम्रो सन्देश नदिने टिप्पणी गरे । देशका कार्यकारी प्रमुख भारत भ्रमणमा जानु अघि त्यहाँका नेपाली राजदूतलाई फिर्ता बोलाइनुले राम्रो सन्देश नदिने उनको भनाइ छ ।

यसअघि पनि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७३ वैशाखमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको क्रममा तत्कालीन नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएका थिए ।

तर त्यतिबेला राष्ट्रपति भण्डारीको भ्रमण पनि स्थगित गरिएको थियो । सरकारलाई असहयोग गरेको भन्दै उपाध्यायलाई फिर्ता बोलाएको थियो । राजदूतलाई फिर्ता बोलाएकै कारण तत्कालीन राष्ट्रपति भण्डारीको भ्रमण स्थगित गरिएको थियो । तर त्यतिबेला भारतले नेपालको मामिलामा अनावश्यक हस्तक्षेप गरेको कारण भ्रमण स्थगित गरिएको भनिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here