डेस्क, २५ जेठ ।। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आज मुख्यमन्त्रीमा नियुक्त सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिनुभयो ।

जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । लगत्तै उहाँले नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाललाई नियुक्त गर्नुभएको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराई, नेकपा (एकीकृत समाजवादी) बाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने र ऊर्जा तथा सिँचाइ मन्त्रीमा बेंची लुंगेली नियुक्त हुनुभएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रीमा नेपाल सङ्घीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुम र श्रम तथा यातायात मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह नियुक्त हुनुभएकाे छ ।

यसैगरी मधेश प्रदेशको मन्त्रिपरिषद्‍मा एमालेबाट स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा शारदा थापा, शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा केशव राय र जनमतकी रञ्जु खंगले विनाविभागीय राज्यमन्त्रीको शपथ लिनुभएको छ ।

जसपा नेपालका तर्फबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले अस्ति प्रदेश सभामा विश्वासको मत गुमाउनुभएको थियो । ६ दलका ५५ जना सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here