वीरगंज, २८ चैत ।। नेपाल प्रहरीका यी कर्मचारी किन २२ वर्ष देखि छोडी रहेका छैनन् पर्सा जिल्ला । विगत २२ वर्ष देखि विभिन्न बहाना करण देखाई यसै जिल्लामा किल्ला जमाई बसेका छन् । प्रहरी नियमावली अनुसार शान्ति सुरक्षा वा अन्यत्र विभिन्न प्रयोजनले एक प्रहरी कर्मचारी बढीमा एउटै जिल्लामा २ देखी ३ वर्ष मात्रै काम गर्न पाइने व्यवस्था छ ।

अझ प्रहरी निरीक्षक देखी माथिल्लो तहको पदमा कार्यरत भए त बढीमा एक वर्षभन्दा बढी एउटा जिल्लामा बस्न पाइन्न । प्रहरीमा मात्रै होइन अन्य सरकारी सेवामा पनि एउटै ठाउँमा लामो समय कार्यरत रहँदा कार्यसम्पादनमा असर पर्न सक्ने भन्दै सरुवाको प्रावधान राखिएको हुन्छ ।

तर, नियम र प्रचलनलाई लत्याएर पर्सा जिल्लामा केही प्रहरीहरू २२ वर्षसम्म एकै जिल्लामा कार्यरत रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट मिडियाहरु लाई प्राप्त विवरण अनुसार विशिष्टीकृत अनुसन्धान र भूमिकामा नदेखिएका ति प्रहरीहरू कसरी एकै जिल्लामा पेन्सन पाक्ने बेलासम्म कार्यरत छन् भन्ने रहस्य खुल्दैन ।

पर्सामा प्रहरी नायब निरीक्षक देखी प्रहरी जवान तहसम्मका प्रहरीहरू १० देखी २२ वर्षसम्म एकै जिल्लामा डेरा जमाएर बसेका छन् । २०५८ सालदेखि ति प्रहरी कर्मचारीहरूले पर्सा नछोडेको पाइएको जिल्ला प्रहरी कार्यालय स्रोत बताउँछ ।

देशको अन्यत्र स्थानमा सरुवा भएर पनि विगत २२ वर्षदेखि पर्सामा डेरा जमाएर बसेका प्रहरी नायब निरीक्षक (सई) मध्ये मित्र बहादुर राई र हिराबहादुर बुढाथोकी पर्साका स्थायी जस्तै भएका छन् । उनीहरूलाई प्रहरी प्रधान कार्यालयले विभिन्न समयमा देशका विभिन्न जिल्लामा सरुवा गरेपनि काजमा सरुवा मिलाएर उनीहरु विगत २२ वर्षदेखि पर्सामै छन् । हाल काजमा मित्र बहादुर राई जिल्लाकै प्रबन्ध शाखा र हिराबहादुर बुढाथोकी प्रशासन शाखामा कार्यरत छन् ।

यस्तै प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर श्रेष्ठको समेत अन्यत्र सरुवा भएपनि छपकैयामा काजमा खटिरहेका छन् । यो सँगै उनी पर्सामा बसेको २० वर्ष नाघेको छ ।

यस्तै १५ वर्षदेखि प्रहरी सहायक निरीक्षक (असई) नेत्र बहादुर खड्का, मिना बडाल, नन्दकला टमाटा पर्सा छोडेका छैनन् । खड्का हाल जिल्ला अदालत, बडाल सामुदायिक प्रहरी मिना बजार, टमाटा जिल्लाकै महिला सेलमा काजमा रहेकी छिन् ।

यस्तै प्रहरी सेवामा आबद्ध रहेका एक दम्पतीपनि विगत १५ वर्षयता पर्सा छोडेका छैनन् । प्रहरी बरिष्ठ हवलदार दलबहादुर थापा र उनकी श्रीमती प्रहरी हवलदार कमला तमाङ दुवैजना विगत १५ वर्षदेखि पर्सा जिल्ला मै कार्यरत छन् ।

यस्तै प्रहरी हवलदार राधिका श्रेष्ठ, बसन्त माया राना, विजया कार्की समेत १५ वर्षदेखि पर्सामै छन् । प्रहरी हवल्दार श्रेष्ठ वीरगंज भन्सारस्थित प्रहरी चौकी इनर्वा, राना र कार्की उच्च अदालत विटमा काजमा छन् ।

यस्तै प्रहरी हवल्दार ज्याती खाती, राम प्रसाद त्रिपाठी, टिका श्रेष्ठ, लक्ष्मी श्रेष्ठ समेत १० वर्षदेखि पर्सा जिल्लामै काजमा रहेका छन् । प्रहरी हवल्दार खाती कारागार, त्रिपाठी प्रशासन शाखा, टिका र श्रेष्ठ सञ्चार शाखामा काजमा छन् ।

प्रहरी सहायक हवल्दार विज्ञान थापाको सरुवा अन्यत्र रहेपनि १४ वर्षदेखि पर्सा मै छन् । हाल उनी लेखा शाखामा रहेका छन । यस्तै प्रहरी सहायक हवल्दार सरोज खड्का, अजिता घिमिरे र शिवशंकर यादव विगत १० वर्षदेखि पर्सा जिल्लामै कार्यरत रहेका छन् । प्रहरी सहायक हवल्दार खड्काले टाइगर टोली सम्हालेका छन् भने घिमिरे जिल्ला प्रशासन कार्यालय र १० वर्षदेखि पर्सा मै डेरा जमाएका शिवशंकर यादव अपराध शाखामा रहेका छन् ।

यस्तै, प्रहरी जवान धनमाया दाहाल, विश्वजित सिंह, शुशिला नेपाली समेत १० वर्षयता पर्सामै कार्यरत रहेका छन् । प्रहरी जवान दाहाल अपराध शाखा र सिंह नेपाली मुद्दा शाखामा काजमा कार्यरत रहेका छन् ।

एउटै जिल्लामा लामो समय किन ?

आर्थिक नगरी वीरगंज आफैँमा आकर्षणको केन्द्र हो । झन देशकै सबैभन्दा ठूलो २ वटा भन्सार नाकाबाट हुने वस्तु आयात र निर्यात तथा अवैध तस्करीका कारण यो क्षेत्र सुरक्षाको दृष्टिले चुनौतीपूर्ण र संवेदनशिल मानिन्छ । अझै त्यसमा हुने खेलो फड्कोका लागि पनि वीरगंज धेरैको रोजाइमा पर्छ ।

भलै वीरगंजमा लामो समयसम्म कार्यरत रहेका प्रहरीहरू गलत कामकै लागि राखिएको नहुन सक्छन् । तर, तस्करी हुने मालसमानको लाइन मिलाइदिने देखी राजनीतिक अपराध लुकाउनसम्मका लागी पर्सा सरुवा गराएर नजिकको प्रहरी राख्ने चलन नौलो होइन् ।

प्रहरी नियमावली अनुसार शान्ति सुरक्षा वा अन्यत्र विभिन्न प्रयोजनले एक प्रहरीले बढीमा एउटै जिल्लामा २ देखी ३ वर्ष र प्रहरी निरीक्षकदेखि माथिल्लोस्तरमा बढीमा एक वर्षसम्म एउटा जिल्लामा बस्नुपर्ने नियम छ । मधेश प्रदेश प्रहरी प्रवक्ता श्याम कुमार महतोका अनुसार अन्य पदका लागि २ देखि ३ वर्ष र निरीक्षक देखि माथिल्लो पदमा बढीमा १ वर्ष मात्रै एउटा जिल्लामा बस्न पाइन्छ।

तर, मधेश प्रदेशका ८ जिल्लामा भने यो प्रावधान लागू हुन सकेको छैन् । मुख्यमन्त्री, प्रदेश मन्त्रीदेखि सांसद, मेयरसम्मले आफ्ना मान्छे भन्दै सरुवा गराएर काजमा प्रहरीहरू जिल्ला ल्याउने गरेको पाइन्छ ।

पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले यसबारे अनभिज्ञता प्रकट गरे । बाहिर सरुवा भएर जानु पर्ने १ सय ७० जना जति प्रहरीहरू अहिले पनि जिल्लामा रहेको भन्दै उनले नयाँ आउने आएपछि पुरानो पदस्थापनको ठाउँमा जाने बताए । जिल्लाका कतिपय पोस्टका लागि अझै सुरक्षाकर्मी अभाव रहेको भन्दै उनले एकै ठाउँमा वर्षौँ कोही प्रहरी अधिकारी रहेको भन्नेबारे भने बुझ्नुपर्ने बताए ।

‘सरुवा भएर जानु पर्ने प्रहरीहरू छन्,आउनुपर्ने पनि छन्’, उनले भने, ‘एउटै ठाउँमा लामो समय काम गरेको भन्नेबारे बुझ्नुपर्छ । उजुरी आए कारबाही हुन्छ ।

पर्सा प्रहरीमा एक हजार जनाको दरबन्दी रहेको र विशेष काम बाहेकको अवस्थामा प्रहरीको लामो समयसम्म सरुवा नहुने अवस्था नरहने पनि जिल्ला प्रहरी कार्यालयले प्रष्टयाएको छ ।

सम्भार : सिधाकुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here