काठमाडौं, २६ भदौ ।। उत्पादनको बजारीकरण नहुँदा निर्यात कमजोरहुदै गएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको बजारीकरण नहुदा माग र निर्यातमा बृद्धि हुन सकेको छैन । निर्यातभन्दा आयात १० गुणा अधिक हुँदा देशको व्यापार घाटा चुलिंदो छ ।

नेपाली उत्पादनलाई विश्वबजारमा पुर्‍याउन व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले नेपालका लागि विभिन्न देशका आवासीय महामहिम, निजी क्षेत्रका व्यवसायीलगायतसँग अन्तरक्रियाको सुरुवात गरेको छ । यसैक्रममा केन्द्रले आइतबार थाइल्यान्ड, कुवेत र यूएईका प्रस्तावित राजदूतसँग नेपाली उत्पादनको व्यापार प्रवद्र्धन कसरी सम्भव हुन्छ भन्नेबारे अन्तरक्रिया गरेको छ।

यसैक्रममा केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपाली उत्पादनको विश्वबजारमा व्यापार प्रवद्र्धनका लागि जोड दिने बताए । विश्वमा आयोजना हुने मेलामा सहभागी हुन बजेट कम छ तर पनि सहुलियत मूल्यमा नेपाली व्यवसायीलाई अन्य मुलुकमा भएको मेलामा सहभागिताको वातावरण मिलाउन राजदूतहरूसँग अनुरोध गरे । यसैक्रममा उनले अब इजिप्टमा हुने मेलामा पहिलो पटक नेपाल सहभागी हुन लागेको जानकारी दिए ।

हस्तकला महासंघका प्रतिनिधि थाइल्यान्डमा हस्तकलाको प्रचुर सम्भावना रहेको तर त्यहाँको सरकारले कम्तीमा पनि ४० प्रतिशत ड्युटी फ्रि लगाएकाले निर्यात गर्न गाह्रो भएको बताउँछन् । नेपाली हस्तकलाका सामानमा ड्युटी फ्रि शून्य गरिदिन राजदूतावासले यसमा भूमिका खेल्न महासंघले अनुरोध गरेको छ ।

यस्तै निर्यात परिषद्का अध्यक्ष रेशम पोखरेल यूएईमा जुम्ला, मुस्ताङको स्वादिलो स्याउ, नेपालको अर्गानिक तरकारी, रायोको साग र राँगाको सुकुटीको माग अधिक रहेको जनाए । नेपालको निर्यातको नयाँ गन्तव्यको बढी सम्भाव्यता रहे पनि नेपालमा सबै वस्तुको सर्टिफिकेसन गर्ने प्रणाली नहुँदा निर्यात गर्न नसकेको गुनासो गरे ।

२७ वर्ष बेल्जियम बसेर फर्किएका युवराज गुरुङ मुना कृषि लिमिटेडमार्फत विश्वबजारमा नेपालका कृषिजन्य वस्तुहरू निर्यात गर्दै आएका छन्। उनले विश्व बजारमा व्यापार प्रवद्र्धन गर्न विभिन्न एक्स्पोलगायतबाट जोडिदिन अनुरोध गरे ।

राजदूतले गर्ने भेटमा नेपाली चिया–कफी

राजदूतले विदेशी पाहुनासँगको भेटघाटको सुरुवात नेपाली प्रडक्ट चिया र कफीबाट गर्ने गरेको बताउँछन् । यो वर्षौंदेखिको ट्रेन भएकाले अब नेपालका अन्य वस्तु उपहारको रूपमा दिन आवश्यक भएकाले यसमा सहायता गर्न राजदूतले अनुरोध गरे । यसैक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादूर वली आफूले यसअघि पनि अधिकांश भेटघाटको सुरुवात तुलसी चियाबाट गरिएको अनुभव सुनाए । यसैक्रममा उनले कतिपय व्यवसायीलाई कुन देशमा के निर्यात गर्दा सुविधा के के पाइन्छ भन्ने अझै थाहा नभएकोबारे ध्यानाकर्षण गराए ।

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल व्यवसायीले सम्बन्धित मुलुकमा कुनै वस्तु निर्यात गर्न खोज्दा परेका समस्या राख्न अनुरोध गरे । आफूहरू नेपालको व्यापार प्रवद्र्धनमा सहजीकरण गर्न लागि पर्ने जनाए ।

यस्तै, यूएईका लागि नेपाली राजदूत तेजबहादूर क्षेत्रीले नेपालको ठूलो गन्तव्यको रूपमा रहेको यूएईमा आगामी दिनमा व्यापार प्रवद्र्धन गर्ने आश्वासन दिए ।

नेपाल–कुवेतको व्यापार

विगत पाँच वर्षमा नेपालले कुवेतबाट गर्ने आयात १२१.१ प्रतिशतले बढेको छ। तर निर्यात भने ३५.७ प्रतिशतले घट्दा उक्त देशसँग नेपालको व्यापार घाटा उच्च छ । जबकि कुवेतमा कार्पेट, रेडिमेट गार्मेन्ट निर्यात भएका छन् । तर, अपेक्षाअनुसार त्यति धेरै निर्यात हुन नसकेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयश खनाल बताउँछन् । कुवेतले गरगहना, हस्तकला, ह्यान्ड ब्याग, जुत्तालगायतका वस्तु आयात गर्ने गरेको छ । नेपालबाट पास्ता, बिस्कुट, फूलहरू कुवेत निर्यातमा सम्भाव्यता भए पनि केही अवरोध भएको उनले ध्यानाकर्षण गरे ।

नेपाल र थाइल्यान्डको व्यापा

विश्वको आयात गर्ने २२औं नम्बरमा थाइल्यान्ड पर्छ। विश्व आयातमा १.२ प्रतिशत हिस्सा थाइल्यान्डको रहेको छ। करिब ५० प्रतिशत वस्तुहरूमा यो देशले सुविधा दिएको छ । सन् २०१८ देखि २०२२ सम्मको तथ्यांकलाई हेर्दा नेपालले निर्यातभन्दा आयात अधिक गर्दै थाइल्यान्डसँगको व्यापारघाटा ५.४ प्रतिशत छ । सन् २०२२ मा नेपालबाट स्टेनलेस स्टिलको बुनेको कपडा, बोरा, झोला, कार्पेट, ऊन, कुकुर र बिरालोको खानालगायतका वस्तु निर्यात भयो । ज्वेलरीहरू निर्यात गर्ने ठूलो बजार थाइल्यान्ड हो तर यहाँ अहिले कम भएको छ ।

नेपाल र यूएईबीचको व्यापार

सन् २०२२ मा आयातमा २६औं स्थानमा रहेको यूएईले विश्व आयातको १ प्रतिशत आयात गर्ने गर्दछ । विगत पाँच वर्षमा यो देशसँगको व्यापारमा पनि नेपालले निर्यातभन्दा आयात नै बढी गरेको छ। पछिल्लो वर्ष सन् २०२२ मा मात्रै ३९ अर्ब ८३ करोड रुपैयाँले व्यापार घाटा व्यहोर्नु परेको छ । जबकि यूएईमा नेपालले करिब डेढ दर्जन वस्तुको निर्यात गर्छ । सो मुलुकमा सन् २०२२ मा मात्रै मेडिसिन हर्ब, रेडिमेड गार्मेन्ट, उलन, कार्पेट ह्यान्डमेड पेपर, उलन सललगायत निर्यातको भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here