काठमाडौं, २० भदौ ।। नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्‍न ठाउँमा निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन बुधबारदेखि एकसाथ सञ्चालनमा आएका छन् । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका हुन् ।

करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ ठूला कारहरु चार्ज गर्न मिल्ने छन् ।

चार्जिङ स्टेसन उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दिनमा देशव्यापी रुपमा चार्जिङ स्टेसन विस्तार हुने बताए ।

उनले विद्युतीय गाडी (ईभी) मार्फत् नै हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने भन्दै विद्युतीय सवारी साधनहरूले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्यूनीकरणसँगै नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने धारणा राखे ।

उनले विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र विस्तारको लागि आवश्यक सहुलियत प्रदान गर्न र अनुकूल वातावरण बनाउन सरकार तयार रहेको बताए।

मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आउनु विद्युतीय सवारी साधनको यात्रा हरित,स्वच्छ ऊर्जा खपत मार्फत कार्वन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरु न्यूनिकरणमार्फत देशको दीगो विकासमा महत्वपूर्ण पाइला भएको बताए ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको भन्दै आन्तरिक रुपमा विद्युत् खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकास गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए ।

विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्ने उल्लेख गरे। प्राधिकरणले देशभर थप ५ सय वटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको उनको भनाइ छ । उनका अनुसार चार्ज गर्दा प्रतिकिलोमिटर दूरीका लागि कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा खर्च लाग्छ ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर,त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here