काठमाडौं, २० भदौ ।। मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचविखनको निर्मूलन भन्ने मूल नाराको साथ मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस मनाइएको हो ।

दिवसका अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लगायत विभिन्न संघसंस्थाले सचेतनामूलक र्‍याली समेत निकालेको थियो । र्‍यालीपछि सिंहदरबारस्थित महिला मन्त्रालयमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राज्यको एकल प्रयासले मात्र मानव बेचविखन जस्ता अपराधका घटनाहरू नियन्त्रण गर्न नसकिने भन्दै सबै संघ संस्थाको सहयोग आवश्यक पर्ने बताए।

उनले सरकारले नेपालको संविधान, मुलुकीय अपराध संहिता २०७४, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र नियमावली २०६५, बालबालिकासम्बन्धी ऐन २०७५, बाल श्रम निषेध र नियमन गर्ने ऐन २०५६, बैदेशिक रोजगारसम्बन्धी ऐन र नियमावली १५ औं योजना, विभिन्न अन्तर्राष्ट्रिय सन्धी सम्झौतामार्फत मानव बेचबिखनलाई गम्भिर फौजदारी अपराधको रुपमा राखी यसको नियन्त्रणको लागि विभिन्न नीतिगत र संस्थागत कार्यक्रमको व्यवस्था गर्दै आएको जानकारी दिए।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले मानव बेचबिखनविरुद्ध एकताबद्ध भएर सबैले आवाज उठाउन नसके यसको अन्त्य गर्न नसकिने बताए। उनले पछिल्लो समय तस्करी पनि धेरै तरिकाले हुने गरेको भन्दै विशेषगरी वैदेशिक रोजगारीमा जानेहरूका लागि यो समस्याका रूपमा खडा भइरहेको उल्लेख गरे।

बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन गरेपछि नेपालमा २०६४ साल देखि भाद्र २० गते देखि राष्ट्रिय दिवशको रुपमा मनाइएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रुप बिकराल बनेको छ ।

गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here