जनकपुरधाम, १६ भदौ ।। तेल किन्न समस्या भएपछि भंगहा–जनकपुर–जयनगर रेल्वे सेवा बन्द हुने अवस्थामा पुगेको छ । नेपाल रेल्वे कम्पनी महाप्रबन्धकबिहीन भएपछि रेललाई तेल किन्न समस्या भएको हो । यसले रेल सेवा बन्द हुने अवस्थामा पुगेको कार्यालय स्रोतले जनाएको छ ।

भदौ २०७८ मा संघीय समाजवादीको कोटामा महाप्रबन्धक नियुक्त भएका निरञ्जन झा भदौ २ गते पदावधि सकिएको थियो । त्यस यता रेलमा हालिँदै आएको डिजेलको रकमको भुक्तानी रोकिएको छ । महाप्रबन्धकलाई मात्रै आर्थिक अधिकार हुने भन्दै रेलमा तेल हालेको पैसा दिन कम्पनीले मानेको छैन ।

जनपुरको भी आयल स्टोरले बक्यौता भुक्तानी नभए १६ भदौ (भोलि)देखि तेल नदिने भन्दै पत्राचार गरेको छ । कम्पनीले सोही पम्पबाट रेलका लागि तेल खरिद गर्दै आएको छ ।

कम्पनीका अधिकारीहरुले अन्य कर्मचारीलाई आर्थिक दायित्व भुक्तानीको अधिकार नभएको भन्दै भुक्तनी दिन नसकिने बताइरहेका छन् ।

भी आयल स्टोरले गत ६ भदौमा २० लाख ९५ हजार ६४१ रुपैयाँ भुक्तानी नभएको १५ भदौसम्ममा भुक्तानी नभए इन्धन उपलब्ध नगराउने जानकारीसहित पत्र लेखेको थियो । त्यसअनुसार भोलिदेखि सेवा रोकिने जोखिम देखिएको स्रोतको दाबी छ ।

उनको पदावधि सकिएलगत्तै अर्का महाप्रबन्धक नियुक्त गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो नदिँदा रेल्वे कम्पनीको दैनिक कामकाज प्रभावित भएको छ ।

पम्पले दिएको चेतावनीबारे कम्पनीका कर्मचारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जानकारी पनि दिएका थिए । तर, मन्त्रालयका अधिकारीहरुले चासो नै नदिएकाले भोलिदेखि रेलसेवा बन्द हुने अवस्था आएको अधिकारीहरुको दाबी छ ।

कम्पनी मन्त्रालय मातहत भएकाले छिटो महाप्रबन्धक नियुक्त गर्ने र कम्पनीको दैनिक कार्यसम्पादनमा परेका गाँठो फुकाउने अधिकार मन्त्रालयसँगै छ । तर, मन्त्रालयले पटक्कै चासो नदिएपछि कम्पनीका कर्मचारीले भोलिदेखि रेल सेवा बन्द गर्नुको विकल्प नदेखिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here