विराटनगर, १३ भदौ ।। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै पास भइसकेका कारण एमसीसी कार्यान्वयनमा जाने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग ओलीले संसदबाटै पास भइसकेको एमसीसी कार्यान्वयनमा जाने कुरामा कुनै द्विविधा नरहेको बताएका हुन् ।

‘संसदबाट अनुमोदन भइसकेको कुरा कार्यान्वयनमा जान्छ,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘एमसीसी पास गर्नु उपयुक्त हो कि हैन भनेर त्यतिबेलै सोच्नुपर्ने थियो ।

संसदबाट एमसीसी पास गर्ने बेलामा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई भने ओलीले झुटको खेस्रो भएको टिप्पणी गरे । १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो । झुटको खेस्रो उहाँहरु (सत्तापक्ष)ले जनतालाई दिएको धोका हो,’ओलीले भने, ‘संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो । त्यसलाई एमसीसीले मान्दैन ।

सत्तापक्षले १२ बुँदे व्याख्यात्मक घोषणा गरेपछि मात्रै संसदबाट एमसीसी अनुमोदन भएको थियो । त्यही घोषणा झुटको खेस्रो र जनतालाई दिएको धोका भन्दै ओलीले व्याख्यात्मक घोषणा एमसीसीले नमान्ने जिकिर गरे । एमसीसीका सन्दर्भमा व्याख्यात्मक घोषणा गर्दै सरकारले त्यतिबेला नेपाली जनतालाई धोका दिएर झुट बोलेको आरोप उनको छ । जनतालाई धोका दिएको मात्रै हैन, नेपालको संसदसँग बेइमानी पनि गरिएको हो,’ उनले भने, ‘तत्कालीन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एमसीसी मानिसकेको अवस्थामा व्याख्यात्मक घोषणा सम्झौताको अंग हुन्छ भन्दै संसदमा नै बोलेर जनता एवं संसदलाई धोका दिने काम भयो ।

त्यतिबेला झुट बोलेर र गलत प्रभावमा पारेर एमसीसी पास गराउने बाटो रोजेको आरोप ओलीको छ । पास गर्नु उपयुक्त हो कि होइनभन्ने विषयमा बेग्लै ढंगले सोच्नुपर्नेमा सरकारले त्यसबेला झुट बोलेको उनले बताए ।

एमसीसी परियोजनाका उपाध्यक्ष नेपाल आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाटै अनुमोदन भएको व्याख्यात्मक घोषणा सम्झौताको हिस्सा हुन्छ कि हुँदैन भनेर आफूले सोध्ने बताएका थिए । हिजो मात्रै प्रधानमन्त्रीले म सोध्छु भन्नुभयो । सोध्न किन पर्‍यो ? सम्झौताभन्दा वरपरका घोषणामा कुनै सरोकार छैन र जान्दैनौं भनेर एमसीसीले उहिले नै जवाफ दिएको छ । उहिले नै भनेको छ। त्यो जवाफ प्रधानमन्त्रीलाई पनि थाहा छ। उहाँले सोध्ने पनि हैन । जनतालाई अलमल्याउनका लागि बोलेको हो,’ ओलीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here